काबुल,३१ वैशाख (रासस/एएफपी)
अफगानिस्तानको राजधानी काबुलमा मंगलबार एउटा अस्पतालमा बन्दुकधारीहरुले हमला गरेका छन् । उनीहरुले गरेको सो हमलामा परी २४ जनाको ज्यान गएको छ ।
त्यहाँ भएको सो हमलामा मंगलबार नै दुई जना शिशुसहित १४ जनाको मृत्यु भएको बताइएको थियो । तर अफगानिस्तानका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिद अहमदले बुधबार सो हमलामा परी ज्यान जानेको संख्या २४ पुगेको जानकारी दिनुभएको हो ।
यहाँका स्वास्थ्यसम्बन्धी उपमन्त्री वाहिदले उक्त आक्रमणमा परी थप १६ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले मंगलबारदेखि बुधबार बिहानसम्म लगाएर सो अस्पतालमा रहेका आतंककारीमाथि पनि कारबाही गरिएको जानकारी दिनुभयो ।
अफगानिस्तानमा सुरक्षासम्बन्धी अधिकारीहरूले सुरूमा त्यहाँ शृंखलाबद्ध रुपमा बम विस्फोटन भएको र त्यस बम हमलामापछि बन्दुकबाट पनि आक्रमण गरिएको उल्लेख गरेका छन् ।
त्यस अस्पतालमा सो समयमा चिकित्सक र नर्ससहित १ सय ४० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ । त्यस अस्पतालबाट भाग्न सफल भएका एक जना चिकित्सकले त्यसबेला अस्पतालमा विरामीहरु पनि रहेको जानकारी दिएका छन् ।
त्यस अस्पतालको प्रसुती गृह एक अन्तराष्ट्रिय परोपकारी संस्थाले सञ्चालन गरिरहेको बताइएको छ । विदेशी संस्थाले सञ्चालन गर्दै आएको हुनाले त्यस अस्पतालमा तालिबानले हमला गरेको हुनसक्ने बताइएको छ । त्यहाँ विदेशी कर्मचारी तथा स्वास्थ्यकर्मीहरु पनि कार्यरत रहेका थिए । यद्यपि सो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।
त्यस अस्पतालका कर्मचारीहरूले प्रयोग गर्ने अतिथि गृहलाई हमलाकारीले निशाना बनाएकोले उनीहरुले विदेशी कर्मचारीलाई नै आक्रमणको निशाना बनाएको हुनसक्ने बताइएको छ ।
आक्रमणको समयमा त्यहाँ रहेका करिब तीन जना विदेशीसहित १०० जना महिला र बालबालिकालाई त्यहाँबाट सुरक्षित स्थानतर्फ लैजान सफल भएको बताइएको छ ।