भक्तपुर, वैशाख ३०
भक्तपुर उद्योग वाणिज्य संघ भक्तपुरले जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) दिलिपप्रसाद लामिछानेलाइ विदाई गरेको छ । कार्यालयमा मंगलबार एक कार्यक्रम गरी सरकारी सेवाबाट सेवा निवृत्ति भएका सहायक प्रजिअ लामिछानेलाई जिल्लाका उद्यमी व्यवसायीकोतर्फबाट विदाई गरेको हो ।
निवृत्त भएका सहायक प्रजिअ लामिछानेले भक्तपुरको आर्थिक सामाजिक विकासको क्षेत्रमा धेरै सम्भावना भएको जिल्ला भएको बताए । यसो हुंदा सबै क्षेत्रबाट योगदान हुनु पर्ने उनले बताए । यसैगरी उनले जिल्लाको आर्थिक विकासका लागि यहांको व्यापार व्यवसायमा आधुनिकिरण गरिनु आवश्यक रहेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले जिल्ला प्रशासन र उद्योग वाणिज्य संघबीचको सम्बन्धलाई मजबुट बनाउनमा सहायक प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । यसैगरी उनंले सेवा निवृत्त भएका सहायक प्रमुख जिल्ला अधिकारीले आफ्नो सेवा कार्यअवधिभरमा हासिल गरेको अनुभवले आगामी दिनमा भक्तपुरको विकासका लागि उपयोगी हुने बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामप्रसाद प्रजापति, उपाध्यक्षहरु महेशबहादुर धौबन्जार, रोशन भोयद्यो र कृष्णमुरारी न्यौपानेले सहायक प्रमुख जिल्ला अधिकारीको योगदानका विषयमा चर्चा गरे । संघका सल्लाहकारहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थितिमा गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीलाई फूलको गुच्छा, मफलर र माया चिनोसहित विदाई गरिएको थियो ।