neapl investment mega bank
  • गृहपृष्ठ
  • सात हजारको स्वाब सङ्कलन गर्छौं : मुख्यमन्त्री शाही

सात हजारको स्वाब सङ्कलन गर्छौं : मुख्यमन्त्री शाही

May 11th, 2020

सुर्खेत, २९ वैशाख (रासस)

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को प्रतिकार्य तथा रोकथाम अभियानअन्तर्गत अब सात हजारको स्वाब सङ्कलन गर्ने बताउनुभएको छ । मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावलसहित आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले प्रतिष्ठानका पदाधिकारी तथा स्थानीय तहका प्रमुखहरुको अन्तरिक्रयामा कर्णालीका ७१८ वडामा प्रति वडाबाट १० जनाको स्वाब सङ्कलन गरेर नमूना परीक्षण गर्ने बताउनुभयो ।

त्यही अनुसार स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँको भनाइ थियो । “भारतलगायत अन्य मुलुकबाट आएकाबाट जोखिम बढ्न सक्छ,” उहाँले भन्नुभयो, “प्रथमतः उनीहरुलाई खोजेर जाँच्ने कामलाई तीव्र बनाउँछौँ ।” चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न उत्प्रेरणा दिँदै मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “पहिला तपार्इं आफू सुरक्षित हुनुस् अनि साहसका साथ काम गर्नुस् । प्रदेश सरकारले कुनै बेला तपाईंहरुको बहादुरीको कदर गर्ने प्रतिबद्धता गर्दछ ।” उहाँले यसअघि प्रतिष्ठानलाई रु एक करोड सहयोग गरेको प्रदेश सरकारले पुनः रु ७५ लाख थप गरेको जनाउनुभएको थियो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशका २७ स्थानमा चिकित्सक सहितको टोली खटाएर स्वाब सङ्कलन गर्ने र साबिक कर्णालीको कर्णाली प्रतिष्ठानमा र अन्य जिल्लाको प्रदेश र रुकुम अस्पतालबाट परीक्षण कार्यलाई तीव्रता दिइने बताउनुभयो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारले दिएको जिम्मेवारीलाई यो सङ्कटको बेला प्रतिष्ठानले डटेर पूरा गरिरहेको बताउनुभयो । डाक्टर र एमडिजिपी पढाइ भएमा कर्णाली मात्रै नभई मुलुकलाई नै सेवा दिने जनशक्ति प्रतिष्ठानले दिन सक्ने उहाँको भनाइ थियो । अस्पताल निर्देशक डा मङ्गल रावलले कोभिड–१९ को रोकथामका लागि प्रतिष्ठानले मेडिकल मार्चसहित घरदैलोमा पुगेर दिएको स्वास्थ्य सेवाका बारेमा जानकारी दिनुभएको थियो ।