नयाँ दिल्ली,२५ वैशाख (रासस/एएनआई)
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बिहीबारसम्म ५२ हजार ९५२ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८३ जना पुगेको छ ।
संक्रमणबाट निको भएका विरामीको संख्या १५ हजार २६६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्म यो रोगका ३५ हजार ९०२ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना विरामी छन्।
कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।