neapl investment mega bank

‘अहिले मदिरा सेवन झन् हानिकारक’

May 5th, 2020

काठमाडौँ, २३ वैशाख (रासस)

मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न अपिल गरिएको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न पनि आग्रह गरिएको हो ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताउनुभयो । “मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ”, उहाँले भन्नुभयो ।

प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अनुरोध गर्नुभयो । “मदिरा सेवनले कलेजोमा हानी गर्छ, त्यस्तै शरीरका अन्य अङ्गमा पनि असर गर्छ, जटिल रोगको अवस्था निम्तन सक्छ र मृत्यु पनि हुन सक्छ”, उहाँले भन्नुभयो । अधिक मदिरापानले मानसिक समस्या पनि निम्तन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।