neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना असरः अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सान

कोरोना असरः अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सान

May 5th, 2020

सिड्नी, २३ वैशाख (रासस–एएफपी)

कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन् ।

अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ । हाल अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कोरोनाभाइरस संक्रमितको संख्या नगण्य बराबर मात्र छ ।

तर क्यानबेरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री जस फ्राइडेनबर्गले कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो नोक्सानी भएको बताउनुभयो ।

हाल जारी प्रतिबन्धहरुले हरेक साता करिब अढाई अर्ब अमेरिकी डलर बराबर नोक्सानी भइरहेको बताउँदै अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक कृयाकलापमा कमी आएको, उत्पादकत्व र उपभोगमा पनि कमी आएको जानकारी दिनुभयो ।

अस्ट्रेलियाको तथ्याँक ब्यूरोले यसै साता सार्वजनिक गरेको प्रतिबेदनमा पनि रोजगारीमा ७.५ प्रतिशत कटौती हुने उल्लेख छ । करिब एक करोड ३० लाख सक्रिय रोजगारीमध्ये झण्डै १० लाख व्यक्ति बेरोजगार हुनु परेको ब्यूरोको भनाई छ ।

सबैभन्दा बढी प्रभावित होटल तथा पर्यटन क्षेत्रमा झण्डै एक तिहाई व्यक्तिले रोजगारी गुमाएका छन् । कला र मनोरंजन क्षेत्रमा २७ प्रतिशत बेरोजगार भएका छन् ।

अर्थ मन्त्रालयले यसअघि कोरोनाभाइरसका कारण वर्षको मध्यमा बेरोजगारी दर १० प्रतिशत हुने अनुमान गरेको थियो । तथ्याँक ब्यूरोले पनि देशभर करिब ३१ प्रतिशत घरपरिवारको आर्थिक स्थिति कमजोर हुने आँकलन प्रस्तुत गरेको थियो ।

अस्ट्रेलियामा कोविड–१९ बाट संक्रमितको संख्या ६ हजार ८०० भन्दा बढी रहेको छ र ९६ जनाको मात्र ज्यान गएको छ । अस्ट्रेलियाका सिड्नी र मेलबोर्नमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।