काठमाडौ, बैशाख २३
समाचार संकलनका क्रममा पोखरामा पत्रकार प्रेम नेपालीलाई प्रहरी निरीक्षकद्वय नरहरि अधिकारी र दिपक केसीले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बिज्ञप्ती मार्फत भनेको छ, आज दिउँसो १२ः३० बजे जिल्ला प्रहरी कार्यालय कास्कीको गेट बाहिर बाटुलेचौरमा भएको जातीय विभेदको घटनालाई लिएर निवेदन दर्ता भएको ५ दिनसम्म पनि पीडकलाई पक्राउ नगरेपछि भेला भएका पीडित पक्ष, कानुनी व्यवसायी र जनप्रतिनिधिहरुका सम्बन्धमा समाचार संकलन गर्ने क्रममा प्रहरी निरीक्षकद्वयले पत्रकार नेपालीलाई भिडियो खिच्न रोक लगाउँदै दुव्र्यवहार गर्नुका साथै क्यामेरा खोस्ने प्रयाससमेत गरेका थिए ।
स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको यस्तो कार्य प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्नमाथि कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।