– तारानाथ आचार्य
बलेवा, २२ वैशाख (रासस)
बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले निर्माण गरिरहेको जिल्लाकै सबैभन्दा ठूलो लिफ्टिङ खानेपानी आयोजनाको काम शुरु हुने भएको छ ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भइरहेको लकडाउनका कारण उक्त आयोजनाको काम रोकिएको थियो । काठेखोलाको पानी लिफ्टिङ प्रविधिमार्फत माथि तानेर बागलुङ बजारका उपभोक्तालाई २४सै घण्टा पानी पु¥याउने गरी बागलुङ नगरपालिका–३ कैलामपोखरी काठेखोला किनारमा चलिरहेको कामले गति लिने भएको हो ।
लकडाउनका कारण विगत एक महिनादेखि काम रोकिएको थियो ।सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखरा, काम गरिरहेको निर्माण कम्पनी र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच आइतबार सुरक्षित तरिकाले मजदुर परिचालन गर्ने सहमति भएपछि कामले गति लिन पाउने भएको हो ।
एक महिनादेखि काम रोकिएका कारण १४ जना मजदुर अलपत्र परेका थिए भने खानेपानीका संरचना निर्माणस्थल वर्षा तथा बाढीका कारण प्रभावित बनेको थियो । तीन पक्षबीच सहमति भएलगत्तै काम शुरु गर्ने र आवश्यक सामग्रीको आपूर्तिमा तीनै पक्षले पहल गर्ने सहमति भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराका डिभिजनल प्रमुख शेखरचन्द्र केसी, साइड इन्जिनीयर कुलप्रसाद पौडेल, निर्माण व्यवसायी प्रमुख गौतम भुसाल र बागलुङ नगर खानेपानी संस्थाका प्रतिनिधिबीच आवश्यक सुरक्षा सतर्कतासहित निर्माण कार्य शुरु गर्ने सहमति भएको शर्माले बताउनुभयो ।
रु ४५ करोड लागत अनुमान भएको सो आयोजना रु ३५ करोडमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । लकडाउनले प्रभावित बनेको निर्माणाधीन आयोजना केही दिनअघिको वर्षाका कारण बनेका संरचना पहिरोले पुरेको थियो । यो आयोजना निर्माणपश्चात् बागलुङ बजारका लागि प्रतिसेकेण्ड ७० लिटर पानी उपलब्ध हुनेछ । अहिले बागलुङ बजारमा झण्डै चार हजार धारामार्फत संस्थाले खानेपानी वितरण गरिरहेको छ ।
झोलुङ्गे पुलको गिनिजबुक यात्रा शुरु
सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको थालनी भएको छ ।
बागलुङ नगरकार्यपालिकाको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत गिनिजबुक अफ दि वल्र्ड जाने प्रक्रिया थालेको हो । केही दिन पहिले सम्पन्न कार्यपालिकाको बैठकले तथ्याङ्क विभाग र स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई नाम लेखाउन पहल गर्ने निर्णय गरेको थियो । ५७६ मिटर लामो यो पुल केही दिन पहिला निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा छ । यसअघि स्विट्जरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुल रहेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।
त्योभन्दा बाहेक कुनै पनि सिङ्गल स्पान प्रविधिको पुल रहेको तथ्याङ्क फेला नपरेकाले यो पुल संसारको लामो भएको दाबी गर्दै गिनिज बुकमा लेखाउने प्रक्रिया थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
स्विट्जरल्याण्डको भन्दा बागलुङमा निर्माण भएको पुल ७३ मिटर लामो रहेको बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो । बागलुङ नगर कार्यपालिकाको बैठकले अन्तर्राष्ट्रियरूपमा चिनाउनका लागि गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा पठाउने निर्णय गरेको उहाँको भनाइ छ ।
सिङ्गल स्पान प्रविधिमा निर्माण भएको सो पुल विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिजबुक अफ वल्र्र्ड रेकर्डमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उहाँले बताउनुभयो । पछिल्लो एक दशकयता कालीगण्डकी माथि सानाठूला धेरै झोलुङ्गे पुल बनेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका पुलले नेपालको पहिचानलाई बदल्न प्रयास गरेका छन् । विसं २०७० मा पर्वत सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयामा ३४७ मिटर लामो पुल बन्यो । कालीगण्डकीमाथि १५६ मिटरको उचाइमा बनेको यो पुल नेपालकै अग्लो झोलुङ्गे पुल हो ।
योबाहेक कैयाबाट पर्वतको फलेवास नगरपालिकाको मुडिकुवा जोड्ने पुलको डिपिआर बनेर निर्माण प्रक्रियामा छ । नारायणस्थानकै कुकुरगाडेदेखि कुश्मा जोड्ने पुलको प्राविधिक स्टमेट तथा अध्ययनको काम भइरहेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण हुन सक्यो ।
बागलुङ–पर्वत जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको विश्वकै लामो पुल अब गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा दर्ज हुने प्रमुख पौडेलले बताउनुभयो । यो पुल गिनिजबुकमा दर्ज गर्ने प्रक्रिया शुरु भएसँगै नेपालको पहिचान थप उचाइमा पुग्ने विश्वास गर्न थालिएको छ । बागलुङमा ५०० भन्दा बढी झोलुङ्गे पुल छन् । सामान्यतया पाँच मिटरदेखि ५६७ मिटर लामो पुल बागलुङमै रहेको दाबी बागलुङ नगरपालिकाको छ ।
१३५ फिट अग्लो कलश निर्माणको काम धमाधम
लकडाउनका कारण विकासे आयोजनाको काम ठप्प रहेका बेला यहाँको एक धार्मिक संस्थाले भने पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारिएको छ ।
बागलुङ नगरपालिका–६ पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो विश्वशान्ति कलश फाउण्डेशनको काम तीव्र पारिएको हो । लकडाउनका कारण यहाँका मजदुरलाई रोकिनुपरेको छैन । सामाजिक दूरी कायम गर्दै पञ्चकोटमा पूर्वाधार निर्माणको काम चलेको छ । पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तिनाथ महाघण्टलगायतका पूर्वाधार निर्माणको काम गरिरहेको छ । गत माघ महिनामै दक्षिण भारतका मजदुर ल्याएकाले हाल कलशको फाउण्डेशन निर्माण भइरहेको स्वामी कमलनयनाचार्यले बताउनुभयो ।
छ वर्षअघिदेखि सहायक पूर्वाधार निर्माण भइरहेको पञ्चकोटमा चैतबाट मुख्य कलश निर्माणको काम शुरु भएको हो । धार्मिक पर्यटकीय गन्तव्य विकास गर्ने उद्देश्यले बानपा–६ सर्वसिद्धि धाम पञ्चकोटमा कलश र मुक्तिनाथ महाघण्ट बनाउन लागिएको उहाँले बताउनुभयो ।
पञ्चकोटलाई ‘विश्वशान्ति सर्वसिद्धिकोट जयश्री मुक्तिनाथ धामस्थल’ विकास गर्न ६ वर्ष पहिलेदेखि भौतिक संरचना निर्माणको काम भइरहेको छ । १३५ फिट अग्लो कलश निर्माणका लागि १२ मिटर गहिराइको २४ वटा पिल्लरमध्ये १८ वटा पिल्लरको काम सकिएको सर्वसिद्धिधाम पञ्चकोटका कार्यालय सचिव रामबहादुर केसीले बताउनुभयो । एक सय ७५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको उक्त धार्मिकस्थलको विकास निर्माणका लागि रु दुई अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । उक्त स्थलमा पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट पनि बन्नेछ ।
आकर्षक धार्मिक मठमन्दिर निर्माण गरेर हिन्दू र बौद्ध धर्मको गन्तव्य बनाउन लागिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । कलश निर्माणसहित पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर काम अघि बढाएको छ । हाल विभिन्न संरचना निर्माणाधीन रहेको पञ्चकोटमा करिब रु १६ करोड लगानी भइसकेको छ । हालसम्म गरुड शिला, गण्डकी माताको मन्दिर, सिसमहल, अन्य देवदेवीका मन्दिर र हनुमानको मूर्ति स्थापना भइसकेका छन् । पाँच हजार ५५५ केजीको घण्टा स्थापनाको तयारी छ । त्यस्तै, सत्तल र धर्मशालाको भवनसमेत निर्माण गरिएको छ । तामाको कलश बनाइने भएकाले खर्चिलो हुने समितिले जनाएको छ । सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा दाताबाट दान सहयोग जुटाएर काम भइरहेको छ ।
पञ्चकोटमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यहाँ दैनिक ५०० देखि हजारजनासम्म घुम्न आउने गरेको भए पनि देशमा कोरोनाका कारण पर्यटक आगमन ठप्प भएको छ । बागलुङ नगरपालिकाका ताराजालकोट, राङ्राङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजना शुरु भएको थियो ।