neapl investment mega bank

लकडाउनले रोकिएन विकास निर्माण

May 2nd, 2020

गलकोट, २० वैशाख (रासस)

सरकारले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि चैत ११ गतेबाट लकडाउन घोषण गरेपछि बागलुङ बजार सिगाना हुँदै बरेङ–शान्तिपुर जोड्ने सडकको स्तरोन्नतिको काम गरिरहेका बाँके, कैलाली, रुकुम तथा रोल्पाका कामदार घर जाने तयारीमा थिए ।

कामदार लकडाउका कारण फर्कन थालेको थाहा पाएपछि बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले लकडाउनमा पनि सुरक्षा अपनाएर काम गर्न कामदारलाई आग्रह गर्नुभयो । लकडाउनका कारण कुनै समस्या परेमा आफूले सहयोग गर्ने आश्वासनसमेत दिनुभयो । वडाध्यक्षले खान–बस्नको समस्या हुँदैन भनेपछि कामदारहरुको घर जाने बेग रोकियो र सडक स्तरोन्नतिमा लागिरहे ।

लकडानका कारण जिल्लाका धेरै विकासका काम प्रभावित भए पनि एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत बागलुङ क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार सिगाना हुँदै बरेङ–शान्तिपुर जोड्ने सडकमा लकडाउनमै धमाधम काम भइरहेको छ । पैतीस मजदुरले तीन खण्डमा विभाजित भएर सुरक्षितसाथ सडकको ग्याविन चिन्ने, पर्खाल लगाउने, पक्की नाली र केही सडक ढलान गर्ने कामसमेत भइरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जिसीले जानकारी दिनुभयो । जिसीका अनुसार लकडाउनमै वडा कार्यालयअन्तर्गतको बजेटले वडा कार्यालय क्षेत्रमा सडक चौडा पार्ने योजना सम्पन्न भएको समेत जानकारी दिनुभयो । सो सडकको कटिङ, ग्राबेलसहितको स्तरोन्नतिका लागि सङ्घीय सरकारको रु एक करोड तथा प्रदेश सरकारको रु एक करोड ५० लाख बजेट विनियोजन भएको थियो । सो रकमबाट बागलुङ नगरपालिका–३ बोक्से घुम्टीबाट वडा कार्यालयसम्मको झण्डै चार किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ ।

स्थानीय तहको समन्वय भएमा विकास निर्माणका लागि आएको बजेट फ्रिज हुनबाट जोगिने सङ्घीय सांसद डा सूर्य पाठकको भनाइ छ । “लकडाउनका कारण घर फर्कन थालेका ३५ कामदारलाई रोकेर सडक निर्माणमा लगायौँ”, जिसीले भन्नुभयो, “बेला–बेलामा वडा कार्यालयले खाद्यान्न सहयोग गर्दै आएको छ, केही समस्या परे हामीले नै समाधान गर्दै आएका छौँ ।” जिसीका अनुसार लकडाउनका कारण विकास प्रभावित हुँदा हामीलाई नै समस्या हुने भन्दै वडा कार्यालयको समन्वयमा लकडाउनमा भए पनि काम नरोकिएको हो । शुरुमा निर्माण सामग्रीको समेत अभाव हुँदा वडा कार्यालयले नै निर्माण सामग्री ढुवानीका लागि अगुवाइ गरेको थियो ।

अहिले सडकको स्तरोन्नतिको काम अन्तिम चरणमा रहेको छ । लकडाउनमा काम प्रभावित भएको खण्डमा बजेट फ्रिज जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै मजदुरलाई खाद्यान्न सहयोग गरेर काममा खटाइएको थियो । वडा कार्यालयले मजदुरलाई हालसम्म १०० केजी चामल र १० केजी दाल सहयोग गरिसकेको भन्दै वडा कार्यालयले लकडाउन थपिदै जाँदा पुनः सहयोग गर्ने जनाएको छ । सङ्घीय र प्रदेश सरकारको दुवै बजेटबाट आठ मिटर चौडा सडक र पक्की नालिसहित स्तरोन्नति भइरहेको उक्त सडक निर्माणको जिम्मा विके कन्ट्रक्शनले लिएको छ ।

यस्तै लकडाउनले रोकीएका सङ्घीय तथा प्रदेश सरकारका योजना पुनः शुरु हुन थालेका छन् । लकडाउन थपिँदै जाँदा विकास निर्माण प्रभावित हुन थालेपछि मौजुदा कामदारबाट सडक निर्माण थालिएको हो । यस्तै लकडाउनले रोकिएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरले पुनः गति लिन थालेका छन् ।

पर्वत कोरोना अस्पतालमा स्वाब सङ्कलन बुथ सञ्चालनमा

पर्वत– पर्वतको कोरोना अस्थायी अस्पतालमा कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि स्वाब सङ्कलन बुथ स्थापना भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कोरोना अस्पतालमा स्वाब सङ्कलन बुथ स्थापना गरी शुक्रवारदेखि सञ्चालनमा ल्याइएको हो । पर्वत अस्पताल र जिल्लाका सातवटै स्थानीय तहको सहकार्यमा सञ्चालित अस्पतालमा कोरोना भाइरसको आशङ्का लागेका बिरामीको स्वाब सङ्कलनका लागि बुथ स्थापना गरिएको पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले जानकारी दिनुभयो ।

यो बुथबाट स्वाब सङ्कलन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने सङ्क्रमणको जोखिम नहुने उहाँको भनाइ छ । त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पिपिइलगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुनेसमेत उहाँले बताउनुभयो । स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने भएको छ । बुथ पूर्णरूपमा बैज्ञानिक र सुरक्षितरूपमा निर्माण गरिएको अस्पतालले जनाएको छ । बुथमा प्रयोग गरिएका सामग्री गुणस्तरीय रहेको र बुथभित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको छ । पर्वतमा हालसम्म ३७३ को आरडिटी र ८४ जनाको पिसीआर परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिनुभयो ।

पुराना सामानबाट स्यानिटाइजर टनेल निर्माण

बलेवा– बागलुङका केबल टिभी नेटवर्कका व्यवसायी सञ्चालक राजकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठले पुराना इलेक्ट्रोनिक सामानको प्रयोग गरेर पूरै शरीरमा स्यानिटाइजर छर्किन सक्ने स्वचालित मेसिन निर्माण गर्नुभएको छ ।

उहाँहरुले निर्माण गर्नुभएको टनेल शुक्रबार धवलागिरि अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालमा बिरामी र सर्वसाधारणको चाप बढी हुने भएकाले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि अस्पताललाई आफूहरुले निर्माण गरेको टनेल हस्तान्तरण गरिएको व्यवसायी श्रेष्ठले जानकारी दिनुभयो ।

रु ३५ हजारको लागतमा व्यक्तिगत खर्च तथा ज्ञानका आधारमा सो टनेल निर्माण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । टनेललाई बिजुली नभएको बेला सामान्य ब्याट्रीबाट सञ्चालन गर्न सकिने र प्रतिव्यक्ति ७० एमएल खर्च हुने उहाँको भनाइ छ । स्थानीय स्रोत र साधन जडान गरी निर्माण गरिएको स्वचालित स्यानिटाइजर टनेलले कोरोना भाइरस नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । श्रेष्ठ दाजुभाइले निर्माण गरेको टनेल अस्पताललाई हस्तान्तरण गरेर उदाहरणीय काम गरेको उहाँको भनाइ थियो । धवलागिरि अस्पतालसँग समन्वय गरेर टनेल निर्माण गरिएको बताउँदै मनोजकुमार श्रेष्ठले पुराना इलेक्ट्रिकल सामानबाट मेसिन निर्माण गरेको जानकारी दिनुभयो ।

सेन्सर जडान गरिएकाले मानिस आएको सेन्सरले थाहा पाउने र मोटरलाई चालू गराइ स्यानिटाइजर स्प्रे गर्न सकिन्छ । मानिस टनेलमा प्रवेश गर्नासाथ अटोमेटिकरूपमा स्यानिटाइजर हुने र मानिस बाहिरिँदासाथ बन्द हुने श्रेष्ठले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi