neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल टेलिकमद्धारा अनलाइन पठनपाठन सञ्चालन गर्नका लागि ई–शिक्षा प्याकेज

नेपाल टेलिकमद्धारा अनलाइन पठनपाठन सञ्चालन गर्नका लागि ई–शिक्षा प्याकेज

May 1st, 2020

काठमाडौ, बैशाख १९

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ ।

टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको जानकारी दिएको छ ।

टेलिकमका अनुसार विशेष ई–शिक्षा प्याकेज अन्तर्गत रु. २६० मा ६ जिबी र रु. ५०० मा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । रु. २६० मा प्राप्त हुने कूल ६ जिबीमध्ये ३ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ५०० मा २८ दिनसम्म उपलब्ध हुने १५ जिबी डाटामध्ये ६ जिबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा मात्र प्रयोग गर्न सकिने छ र बाँकी ९ जिबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ । ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।
बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने छ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ ।

सिफारिश प्राप्त भएका नम्बरहरुलाई *1441# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
कम्पनीले उपलब्ध गराएको डाटा प्याकेजबाट अनलाइन शिक्षा हासिल गर्न प्रयोग हुने विभिन्न एप्स तथा अन्य सफ्टवेयर प्रयोग गरी अनलाइन कक्षामा भाग लिन तथा शैक्षिक सामग्री डाउनलोड वा आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।