काठमाडौ, बैशाख १९
राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले श्रमिक दिवसको अवसरमा सुभकामना व्यक्त गरेको छ । राप्रपाले बिज्ञप्ती जारी गर्दे भनेको छ, आज मे १, १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र हाम्रो तर्फबाट नेपाल लगायत विश्वका सम्पूर्ण श्रमिक (मजदुर) मा समुन्नति र प्रगतिपूर्ण सुखी र समृद्ध जीवनको कामना गर्दछौं ।
यो सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा ल्याउनमा निर्णायक एवं उल्लेख्य भूमिका निर्वाह गरेको श्रमिक जनताको जीवन अपेक्षाकृत कष्टकर नै रही आएकोमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको कारण सिंगो विश्व समुदाय नै बन्दावन्दीको चपेटामा पर्दा अत्यन्त कष्टकर बनेको छ । नेपालमा संगठित क्षेत्रका तुलनामा असंगठित क्षेत्रमा कार्यरत श्रमिक (मजदुर) को स्थिति अत्यन्त दयनीय छ । बन्दावन्दीको स्थिति थप लम्बिएमा संगठित क्षेत्र समेत घुँडा टेक्ने अवस्थामा पुगेको लाखौं लाख श्रमिक बेरोजगार बन्नु पर्र्ने खतरा विद्यमान छ, बिज्ञप्ती मार्फत राप्रपाले भनेको छ ।
बन्दावन्दिले नेपाल सहित सिंगो विश्वको अर्थ ब्यवस्थामा अत्यन्त प्रतिकुल प्रभाव परिसकेको छ, जसको पहिलो र प्रत्यक्ष असर श्रमिक जनताको जीविकामा परेको छ । जे जस्तो परिस्थितिमा पनि पहिलो र आवश्यक शर्त एवंआवश्यकता भनेको गाँस, बास र कपास हो । अतः श्रमिक वर्गलाई गाँस, बास र कपासको प्रत्याभूति गर्न गराउन राप्रपा नेपाल सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएको छ ।