काठमाडौँ, १७ वैशाख (रासस)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले आज कोभिड–१९ को सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भिडियो कन्फरेन्स गर्नुभएको छ । आज दिउँसो उहाँले कोभिड–१९ को चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओसँग भिडियो कन्फरेन्स गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
छलफलमा नेता नेपालले चीनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न अपनाइएको विधिका सम्बन्धमा कुरा गर्नुभएको थियो । करिब तीन घण्टा भएको छलफलमा नेपालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका गण्डकी प्रदेशबाहेकका सबै पार्टी प्रदेश इञ्चार्जहरु, चिकित्सक र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओसँगै प्रोफेसर झोङ नान सान, मेडिकल चिकित्सक तथा वैज्ञानिक सहभागिता रहेको थिए ।