neapl investment mega bank
  • गृहपृष्ठ
  • काष्ठमण्डप खाद्य उद्योगको गल्तीले भाटभटेनीमाथि कारवाही

काष्ठमण्डप खाद्य उद्योगको गल्तीले भाटभटेनीमाथि कारवाही

Apr 29th, 2020

काठमाडौ, बैशाख १७

नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई हामीले आपूर्ति गरेको २५० ग्रामको मूल्यलाई लिएर २०७७ वैशाख १५ गते कारवाही गरेको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको छ । उक्त कारवाही प्रकरणमा हाम्रो काष्ठमण्डप खाद्य उद्योग प्रत्यक्ष रुपमा जोडिएकोले निम्नानुसार तथ्य प्रस्ट पार्न चाहन्छौं, कम्पनीले भनेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुमा रहेको यस काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनी सुपरमार्केटलाई विगत १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसा लगायत सप्लाई गर्दै आएको छ । नेवार समुदायमा लोकप्रिय एवं विभिन्न अवसरमा अनिवार्य मानिने परिकार बिक्रीमा राखेर यसका उत्पादकहरुलाई सहयोग गर्दैै आएकोमा भाटभटेनी सुपरमार्केटप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेको छ । हामीले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको छ । यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलतः भाटभटेनी आफैंले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा हामीलाई दिएको थियो । लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको हो । पछिल्लोपटक यस उद्योगले २०७७ वैशाख १० गते भ्याट बिल नम्बर ८३५ मार्फत आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको पनि प्रस्ट पार्दछौं ।

हाम्रो कमजोरीका कारण मुलुककै प्रतिष्ठित व्यापारिक घरानाद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेकोमा हामीलाई गहिरो दुःख लागेको छ । २५० ग्रामको र ५०० ग्रामको लाखामरीमा फरकफरक मूल्यको बारकोड स्टिकर टाँस्नुपर्नेमा एउटै स्टिकर टाँसिएको व्यहोरा अनुगमनमा संलग्न अधिकारीहरुले पनि प्रत्यक्ष देख्नुभएको छ ।

तसर्थ यो प्रकरणलाई भाटभटेनीको कमजोरीको रुपमा नभई यस काष्ठमण्डप खाद्य उद्योगको कमजोरीको रुपमा बुझिदिन तथा यो काम गलत नियतले नभई अप्ठेरो परिस्थितिमा सीमित जनशक्तिबाट काम गरेर भए पनि बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिने भन्ने हाम्रो असल नियतकै क्रममा मानवीय गल्तीले गर्दा हुन गएको रुपमा बुझिदिन आम उपभोक्ता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, अन्य सरोकारवाला निकाय तथा आमसञ्चारका मध्यमहरुलाई हार्दिक अनुरोध गर्दछौं, कम्पनीले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi