neapl investment mega bank

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

Apr 29th, 2020

हेटौँडा, १७ वैशाख (रासस)

हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेको हो । निर्देशनालयका अनुसार चालू आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया तथा सम्झौतासमेत सम्पन्न गरेर आर्थिक वर्षको अन्त्य वा नयाँ आर्थिक वर्षको शुरुआतमा काम शुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको चरणमा प्रवेश गरिने योजना रहेको छ । सडकलाई १० मिटरको चौडा बनाएर पक्की नाला निर्माण गरी सात मिटरलाई कालोपत्रे बनाइने गरी बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा साना सवारीलाई मात्र आवतजावत गर्न मिल्ने चार मिटरको साँघुरो सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएकामा खुशी लागेको बताउनुहुन्छ। यसले भीमफेदीको सुन्दर भविष्य निर्माणमा मद्दत पु¥याउने उहाँको भनाइ छ । उहाँले यस प्रक्रियामा योगदान दिनुभएकामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति आभार व्यक्त गर्नुभयो ।

उक्त मार्गको भीमफेदी–देउराली तथा देउराली–कुलेखानी सडकखण्ड एवं इन्द्रसरोबर गाउँपालिकादेखि काठमाडौँको छैमले क्षेत्रमा समेत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi