मेलम्ची, १६ वैशाख (रासस)
महामारी कोरोना भाइरसले त्राहिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरुद्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ । सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको शुरुआतमै जिल्ला कमिटीको बैठक गरेर नेतारकार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य तथा जिल्ला पार्टी सचिव दावा तामाङले सबै कमिटीलाई कामसहित परिचालित हुन निर्देशन गरिसकेका छन् । जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले कोरोनाविरुद्ध जुध्न सबै तहका पार्टी सङ्गठनलाई परिचालन गरेको बताउनुभयो ।
जिल्लाभर क्रियाशील नेकपा सङ्गठनले जनचेतना जगाउने र फिल्डमै पुगेर सर्वसाधारणलाई सहयोग गर्ने काम गरिरहेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपाले स्वास्थ्य परीक्षण र औषधि वितरणलाई तीव्रता दिएको पार्टी अध्यक्ष राजु खाती सहदेवले जानकारी दिनुभयो । उहाँका अनुसार सहइन्चार्ज अनन्तप्रकाश श्रेष्ठसहितको टोलीले थर्मलगनको सहायताले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने र सामान्य बिरामीलाई आवश्यक औषधि वितरण गरिरहेको छ । पार्टी कमिटीका नेताहरु गेहेन्द्र गुरुङ, सुरेश थामी, नीरबहादुर श्रेष्ठ, बलबहादुर थामी, हरेराम तिमल्सिना, शरण गुरुङ, गाङदेउ थामी, बाबुराम थामी र माधव पौडेललगायत दिनरात खटेर स्वास्थ्य परीक्षण काममा लागेका छन् ।
त्यसैगरी सुनकोशी गाउँपालिकामा नेकपाले काठमाडौँमा अड्किएर अलपत्र परेका करिब ५०० सर्वसाधारणलाई गाउँ ल्याइपु¥याएको छ । सुनकोशीका अध्यक्ष प्रेमलाल लामाका अनुसार गाउँपालिकाभर नेकपा कार्यकर्ता परिचालन भएका छन् । “गाउँपालिकामा रहेका विपन्न किसान, मजदुर, दलित र असहायलाई कसरी सहायता गर्ने भन्ने विषयमा कमिटीले अध्ययन गरिरहेको छ”, लामाले भन्नुभयो, “पार्टीको माथिल्लो कमिटी र सरकारसँग पर्याप्त छलफल गरेर कामलाई अझ प्रभावकारी बनाइने छ ।” भाइरसविरोधी लडाइँमा पार्टी कमिटीका अर्का नेता टपिन्द्रप्रसाद तिमल्सिनाले आर्थिक र भौतिक सहयोग गरेकोप्रति सर्वसाधारणले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
यता छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको गाउँपालिका भोटेकोशीमा नेकपाले प्रत्येक टोलमा कार्यकर्ता परिचालन गरेर जनजीवनको अवस्था सङ्कलन गरिरहेको छ । “हामीले कोरोना भाइरससँग लड्न सरकारले जारी गरेको लकडाउनलाई पूर्णपालना गर्ने विषय र त्यसबाट उत्पन्न परिस्थितिलाई कसरी पार लगाउने भन्नेबारे गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेका छौँ”, नेकपा भोटेकोशीका अध्यक्ष आङछिरी शेर्पाले भन्नुभयोे । तातोपानी नाका सञ्चालनबारे पनि कमिटीले समीक्षा गरेको उहाँले बताउनुभयो ।
सीमाको अवस्थाबारे पार्टीको माथिल्लो कमिटी हुँदै सरकारलाई जानकारी गराइएको उहाँले दाबी गर्नुभयोे । नेकपाले दुई प्रतिनिधिसभा, चार प्रदेशसभा, १२ वटै स्थानीय तह र १०३ वटै वडामा सबै तहको बैठक गरेर कामलाई प्रभावकारी बनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फिल्डको अनुभूति सँगालेका पार्टी केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले पार्टी कमिटी जनताको समस्यासँग एकाकार भएर समाधानका लागि केन्द्रित भएको बताउनुभयो ।