neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रमिकलाई विना भेदभाव तलव दिईनु पर्दछः जिफन्ट

श्रमिकलाई विना भेदभाव तलव दिईनु पर्दछः जिफन्ट

Apr 28th, 2020

काठमाडौं, बैशाख १६

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक बिना भेदभाव उपलब्ध गराई असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व बृद्धी गर्न सकिने कुरा नबिर्सन जिफन्टले रोजगारदाताहरूलाई स्मरण गराएको छ ।

जिफन्ट राष्ट्रिय कमिटीको ९७ औँ भर्चुअल (अनलाईन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूती र कार्यथलोमा ब्यक्तिगत सुरक्षा सामग्रीको ब्यवस्था गर्न रोजगारदाता तथा नेपाल सरकारसँग माग गरेको छ ।

यसैगरी लकडाउनको अवधिमा स्वास्थ्य क्षेत्र, छापाखाना, सञ्चारगृहहरूमा कार्यरत श्रमिकहरूलाई निश्काशन गर्ने र बेतलवी बिदा बस्न दबाब दिने काम अविलम्ब रोक्न सम्बन्धित सबै रोजगारदाताहरूसँग जिफन्टले अनुरोध गरेको छ । यस्तो क्रियाकलापले श्रम बजारमा नयाँ द्वन्द्व उत्पन्न गर्ने तर्फ सबैको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

लकडाउन अवधिमा बिदा दिईएका कर्मचारी वा श्रमिकहरूले खाईपाई आएको तलव, भत्ता पाउने गरी नेपाल सरकारले राजपत्र प्रकाशन गरेकोमा जिफन्ट राष्ट्रिय कमिटी नेपाल सरकारलाई हार्दिक धन्यवाद पनि दिएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवसको सन्दर्भमा पनि छलफल भएको थियो । २८ अप्रिल संसारभरका श्रमिकहरूले विशेष महत्वकासाथ श्रमिक स्मृति दिवस मनाइने गर्दछ । मृत्यु भएका मृतकहरूको सम्झना तथा बाँचेकाहरूका लागि संघर्ष गर्ने अठोट गर्दै संसारभर हरेक वर्ष विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । जिफन्टले यस दिवसको अवसरमा हरेक वर्ष मर्यादित तथा सुरक्षित कामका लागि सचेतना फैलाउन विविध कार्यक्रम आयोजना गर्दै आएको थियो ।

जिफन्ट महासचिव जनक चौधरीद्दारा जारी विज्ञप्तीमा भनिएको छः अहिले हामी कोरोना भाईरस (कोभिड १९) को विरुद्ध विजय प्राप्त गर्न संघर्ष गरीरहेका छौँ । त्यसैले यस वर्ष हामीले “ कार्यथलोमा, महामारीलाई रोकौँ” भन्ने आव्हानसहित सन्देशमुलक तरिकाले सम्पन्न गर्दैछौँ ।
लकडाउन जारी रहेका कारण हामी सुरक्षित छौं भन्दै जिफन्टले लकडाउनको पूर्ण पालना गर्न र आफु, आफ्नो परिवार तथा समाजलाई कोरोना भाईरसको संक्रमणबाट बचाउन पनि अनुरोध गरेको छ । उच्च जोखिमका बीच कोरोना भाईरसको बिरुद्ध दिनरात खटिरहेका चिकित्सक, स्वास्थ्य परिचारिका, श्रमिक, सुरक्षाकर्मी, जिफन्टका सदस्यहरू एवम् जनचेतना जागृत गर्न निरन्तर सक्रिय रहेका सञ्चारकर्मीहरूप्रति जिफन्टले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi