काठमाडौँ, १६ वैशाख
नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टि गरेको छ ।
संक्रमित १ जना चैत २२ गते कलकत्ताबाट आएका थिए । अर्का संक्रमित वैशाख ४ गते दिल्लीबाट आएका थिए ।
यस अघि जनकपुरमा उनीहरू को पिसिआर परीक्षण गरिएको थियो । जनकपुरमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना नेगेटिभ देखिएको थियो । पछि शंका लागेर टेकुमा परिक्षण गर्दा नतिजा पोजिटिभ देखिएको छ ।
दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको जनाइएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।