neapl investment mega bank
  • गृहपृष्ठ
  • राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमबाट प्रमाणित : राप्रपा

राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमबाट प्रमाणित : राप्रपा

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रूपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठहर गरेका छन् । राजनैतिक स्थिरता र संविधानको मर्मविपरित आएको अध्यादेश राष्ट्रपतिले दुई घण्टाभित्र अनुमोदन गरेबाट संविधानको पालना भएको देखिन्न । यसबाट संविधानको संरक्षण र जनताको सर्वाेच्चता कायम राख्न संवैधानिक राजसंस्थाको अपरिहार्यता प्रष्ट भएको लोहनीले बताए ।

‘यसबाट पार्टीभन्दा माथि रहेर निष्पक्ष रूपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पस्ट छ । जुनसुकै दलको भएपनि अब जनताको सर्वोच्चतालाई व्यवहारमा उतार्न राष्ट्रप्रमुखको पदलाई पार्टीको स्वार्थभन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर अवाज उठाउनु जरुरी भैसकेको छ,’ उनले सोमबार एक सन्देश जारी गर्दै भने । अध्यक्ष लोहनीले राष्ट्रपति जस्तो सम्मानित संस्था एउटा राजनीतिक दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि क्रियाशील रहेकोमा चिन्ता प्रकट गरे ।

‘सम्माननीय राष्ट्रपतिले नेपालको संविधानको पालना र संरक्षण गर्नु संविधानको दफा ६१ बमोजिमको प्रमुख कर्तव्य हो,’ उनले भने । ‘यो कर्तव्य नेपाल सरकारले देशको राजनैतिक स्थिरता र संविधानको मर्मविपरित पठाएको अध्यादेश दुई घण्टाभित्र सही गरेर पठाएको देख्दा सम्माननीय राष्ट्रपतिबाट पालना भएको देखिएन । बरू एउटा दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि काम गरेको देखियो ।’

लोहनीले संविधानको मर्मविपरित सरकारले प्रस्तुत गरेको अध्यादेश बिना परामर्श जारी गरेर कच्चा काम भएको, यसले राष्ट्रपति पदको गरिमा घटाएको भन्दै देशमा राजसंस्था आवश्यक रहेको उनले बताए । पछिल्लो राजनीतिक घटनाबाट पार्टीभन्दा माथि रहने राजसंस्थाको आवश्यकता र राप्रपाको प्रस्तावनाको औचित्य पुष्टी भएको उनले दावी गरे ।