neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनलाई निरन्तरता दिनुपर्ने आवश्यकता :राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समिति

लकडाउनलाई निरन्तरता दिनुपर्ने आवश्यकता :राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समिति

Apr 25th, 2020

काठमाडौँ, १३ वैशाख (रासस)

राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा ‘लकडाउन’लाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

मुलुकको भूगोल, सङ्क्रमणको अवस्था हेरेर ‘ग्रीन जोन, रेड जोन र एलो जोन’का रुपमा वर्गीकरण गरी सोहीअनुसार लकडाउनलाई खुकुलो र कडा बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको समितिका सभापति दिलकुमारी रावल (पार्वती) ले जानकारी दिनुभयो ।

समितिले रोगको सङ्क्रमण रोक्न मुलुकमा अहिलेसम्म भएको प्रयासको सराहना गर्दै सरकार र सम्बन्धित सरोकारवाला संस्था, व्यक्ति र आदेश पालना गर्ने आम नागरिकलाई धन्यवाद दिएको छ ।

वर्तमान विषम परिस्थितिमा स्वास्थ्य सामग्रीको पर्याप्त आपूर्ति तथा परीक्षणलाई तीव्रता दिन तथा स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ । मन्त्रालय र अन्य निकायसँगको छलफललाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिनसमेत समितिले सरोकारवाला व्यक्ति तथा संस्थाको ध्यानाकर्षण गराएको छ ।

प्रभावकारी समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई समन्वयमा जोड दिन, कृषि क्षेत्रमा व्यवस्थित योजना र बजेटसहितको कार्यक्रम बनाउन, स्वास्थ्य सतर्कता र सुरक्षामा ध्यान दिँदै राष्ट्रिय महत्वका आयोजना अगाडि बढाउन पनि समितिले सरकारको ध्यानाकर्षण गराएको सभापति रावलले जानकारी दिनुभयो ।

समितिले दैनिक ज्यालादारीका मजदूर तथा गरीब, असहाय नागरिकका लागि व्यवस्थितरुपमा राहत वितरण गर्न केन्द्र तथा प्रदेश सरकारले स्थानीय तहलाई बजेट दिन र स्थानीय तहले एकद्धार नीतिअनुसार न्यायोचित ढङ्गले वितरणको व्यवस्था मिलाउन सुझाव दिने निर्णय पनि गरेको छ ।

अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी, गर्भवती, सुत्केरी अवस्थाका नागरिकको सुरक्षा तथा स्वास्थ्य उपचारमा विशेष ध्यान दिन समितिले अनुरोध गरेको छ । खेतीपातीको मौसम शुरु भएकाले किसानका लागि मल, बीउको तत्काल आपूर्ति व्यवस्था मिलाउनसमेत भनेको छ ।

समितिले किसानबाट उत्पादिन तरकारी, दूध, अण्डा, माछा, मासु बजारसम्म पुग्ने व्यवस्था मिलाउन, काठमाडौँलगायत ठूला शहरबाट घर जाने नागरिकलाई समन्वयात्मकरुपमा गन्तव्यमा पु¥याउने व्यवस्था मिलाउन पनि भनेको छ ।

अहिलेको विषम परिस्थितिमा उत्पन्न हुने सङ्कट समाधानका लागि आगामी वर्षको बजेट स्वास्थ्य र कृषिमा लगानी गर्न, दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालनका लागि विशेष योजना बनाएर लागू गर्न र विदेशमा रहेको नेपालीको सुरक्षाका साथै सङ्क्रमित व्यक्तिको उपचारको अवस्थाका बारेमा ध्यान दिँदै समस्या समाधानमा लाग्न आग्रह गरिएको सभापति रावलले बताउनुभयो ।

भारतबाट आउने मालवाहक गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणमा विशेष निगरानी गर्न निर्देशन दिँदै समितिले विदेशबाट आएका नेपालीलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi