neapl investment mega bank
  • गृहपृष्ठ
  • दम्पतीद्वारा ८ हजार पैदलयात्रीको उद्धार

दम्पतीद्वारा ८ हजार पैदलयात्रीको उद्धार

Apr 22nd, 2020

– शंखर पहाडी
सर्लाही, १० वैशाख (रासस)

कोरोना भाइरसले विश्वमा महामारीको रूप लिन थालेपछि शुरु गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेका देशका विभिन्न स्थानका मजदुरलाई यहाँको एक दम्पतीले निःशुल्क सहयोग गर्दै आएको छ ।

भोकभोकै हिँडेको देख्दा निकै नमजा लागेकाले बोलाएर खाना खुवाउने तथा सवारी साधनको व्यवस्था गरी उनीहरुलाई निःशुल्क पठाउने गरेको जिल्लाको हरिवन नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्ग छेउमा बस्ने अमृता मैनाली (उप्रेती) र अर्जुन मैनालीले बताउनुभयो ।

लकडाउनको अवधि महिना दिनपुग्नै लाग्दा मैनाली दम्पतीको यो अभियान २८ औँ दिनमा चलिरहेको छ । करिब डेढ महिनाको बच्चा बोकेर गन्तव्यमा हिँड्नेदेखि वृद्धवृद्धा, बालबालिका, गर्भवतीलगायत करिब आठ हजारलाई निःशुल्क खाना खुवाउने र उनीहरुको गन्तव्यसम्म सवारी साधनको व्यवस्था गरिदिने काम गरेको अमृताले बताउनुभयो ।

लकडाउन भएपछि उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, सवारी साधनहरु बन्द हुँदा श्रमिक वर्ग हिँडेरै भए पनि घर फर्किन बाध्य छ । केहीसँग साथमा केही पैसा भए पनि कतिसँग एक सुको छैन । सवारी साधन पनि चलेका छैनन् । बाटामा समस्या भएकालाई मैनाली दम्पतीले उद्धार गरिरहेको छ ।

सर्लाही जीवन हेल्थ केयर प्रालिका सञ्चालक रहेको सो दम्पती अहिले अस्पतालको प्राङ्गणमै खाना बनाएर खुवाउने र गन्तव्यमा पुर्याउने कार्यमा व्यस्त छ । उनीहरुले मङ्गलबार मात्रै १८२ जनालाई खाना खुवाएर सवारी साधनको व्यवस्था गरी आफ्नो गन्तव्यमा पुर्याएका छन् । शुरु शुरुका दिनमा पूर्व झापाबाट काठमाडौँ जाने यात्रुलाई गन्तव्यमा पुर्याउने गरेको भए पनि पछिल्लो क्रममा नुवाकोट, काठमाडौँ, बुटवल, नेपालगञ्ज, दाङबाट विराटनगर, भोजपुर, उदयपुर, सप्तरी र सिन्धुली हिँडेका पैदलयात्रीहरु आउने गरेको अमृताले बताउनुभयो । उहाँका अनुसार लामो पैदल यात्राका क्रममा दुई गर्भवतीको गर्भपतनसमेत भएको छ ।

सोमबार नुवाकोटबाट सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोला डिँहेकी डेढ महिने सुत्केरीलाई स्थानीय चौताराबाट उद्धार गरी खाना खुवाएर घरसम्म पठाएको अर्जुनले बताउनुभयो । नुवाकोटको इँटा भट्टामा काम गर्ने उनीहरु इँटा भट्टा बन्द भएपछि आफ्नो गन्तव्यतर्फ लागेका हुन् । तीन दिनको बाटो पैदल हिँडेर आफ्नो घरमा जाँदा पस्न नदिएका कारण रातभरि चौतारामा बसेकी नारायण खोलाकी सीता तामाङसहित सात जनालाई नारायण खोला पठाउने काम गरेको उनीहरुले बताए । भोकै हिँडेको समयमा खाना खुवाउने र गन्तव्यसम्म पुर्याउन सहयोग गरिदिएकोप्रति उनीहरुले मैनाली दम्पतीलाई धन्यवाद समेत दिएका छन् । मानवीय भावना भएका मानिसहरु रहेछन् भन्ने लागेको सीताले बताउनुभयो ।

मैनाली दम्पतीले ना ८ ख १८६४ नम्बरको माइक्रोबसमा त्यस्ता अलपत्र परेका पैदलयात्रीहरुलाई गन्तव्यसम्म पुर्याउने गरेका छन् । अहिलेसम्म करिब आठ हजार पैदलयात्रीको उद्धार गरेको भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको अमृताले बताउनुभयोे । यता नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले आफूहरुले सकेको सहयोग गर्न तयार रहेको बताउनुभयो । मैनाली दम्पतीलाई ‘के सहयोग गरौँ’ भन्दा ‘अहिले आफूहरुले नै गरिरहेको’ भनेपछि आवश्यकतानुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको ट्र्याक्टर र अरु भाडाका ट्रकको व्यवस्था गरेर भए पनि पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याउने बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi