neapl investment mega bank

२० प्रतिशत दूध खपतः निःशुल्क बाँडिदै

Apr 22nd, 2020

काठमाडौँ, १० वैशाख (रासस)

सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो व्यवसायीले गरेका छन् ।

काठमाडौँबाहेक चितवन, बुटवल र नेपालगञ्जमा समेत दूध बोकेका ट्याङ्करमा अवरोध गर्ने गरिएको नेपाल डेरी एशोसिएशनले जनाएको छ ।

एशोसिएशनका महासचिव प्रल्हाद दाहाल सरकारले लकडाउनक अवधिमा छुट रहेको भने तापनि ढुवानीसँगै पसलमा समेत दूध बिक्री गर्न अवरोध भएको बताउनुहुन्छ ।। काठमाडौँका नयाँसडक, कोटेश्वरलगायत स्थानमा दूध बोकेको गाडीका चालक तथा सहचालकलाई कुटपिट गर्नेसम्मका कार्य भएको उहाँले जानकारी दिनुभयो ।

“हामीलाई कुनै पास उपलब्ध गराइएको छैन, दिनदिन हाम्रा साथी र दूध बोकेका गाडीहरुलाई अवरोध गरिएको छ”, उहाँले भन्नुभयो, “चितवनबाट काठमाडौँ आएको दूधको ट्याङकर बाटोमा रोकेर फर्काइयो, ढुवानीमा पटकपटक अवरोध भएपछि डेरी सञ्चालन गर्न कठिनाइ भएको छ ।”
उहाँका अनुसार हाल दैनिक २० प्रतिशत मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण भएको छ । लकडाउनमा डेरी उद्योगलाई रु दुई अर्ब नोक्सान भएको रु पाँच अर्ब बराबरको सामान मौज्दात रहेको छ ।

लकडाउनका कारण दूध बिक्री कम भएपछि डेरी उद्योगले निःशुल्क दूध बिक्री गर्न थालेका छन् । खपत कम भएपछि यत्तिकै दूध फाल्दा विरोध आउन थालेपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, झापाको दमक र रुपन्देहीमा निःशुल्क रुपमा क्वारेन्टाइस्थल तथा सुत्केरीलाई दूध तथा घिउ दिन थालिएको डेरी सञ्चालक बताउँछन् ।

बूढानीलकण्ठ नगरपालिकास्थित बिन्ध्यवासिनी डेरीले नगरपालिकासँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क एक किलो घिउ दिन थालेको छ । नगरपालिका कार्यालय र वडा नम्बर ८ र ९ सँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क घिउ दिन थालिएको डेरी सञ्चालक चेतनाथ दाहाल बताउनुहुन्छ । उहाँका अनुसार हालसम्म वडाको सिफारिसका आधारमा सात जनालाई घिउ दिइसकिएको छ । नगरपालिकाका रहेका अन्य डेरीले समेत निःशुल्क एक किलो घिउ दिने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै झापा, दमक नगरपालिकाका क्वारेन्टाइनमा बसेका १७ जनालाई सोमबारदेखि दैनिक निःशुल्क १० लिटर दूध दिन थालिएको गोरस डेरी उद्योगले जनाएको छ । नेपाल डेरी एशोसिएशन जिल्ला अध्यक्षसमेत रहनुभएका डेरी सञ्चालक सोम घिमिरेका अनुसार पहिलो दिन १० लिटर दूध, एक किलो नौनी र पनिरसमेत दिइएको थियो । बीस दिनसम्म क्वारेन्टाइनमा रहेका मानिसलाई दैनिक निःशुल्क दूध उपलब्ध गराउने गरी नगरपालिकासँग समन्वय भएको उहाँले जानकारी दिनुभयो ।

दमक– ४ स्थित दाहाल प्रतिष्ठान र मानसरोवर कलेजमा बनाइएको क्वारेन्टाइनमा १७ जना रहेको नगरपालिकाले जनाएको छ । बीस दिनपछि क्वारेन्टाइनमा फेरि मानिस राखिएमा आफूले पुनः दूध उपलब्ध गराउने घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दूध लिन घरमै नगर प्रहरी आउने गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइनमा रहेकालाई लक्ष्य गर्दै सिद्धार्थ डेरी उद्योगले पनि दैनिक निःशुल्क रुपमा दूध उपलब्ध गराएको छ । बन्दाबन्दी अवधिमा खपत कम भएपछि यत्तिकै दूधलाई फाल्नुभन्दा मानवीय नाताले निःशुल्क दिन थालिएको डेरी सञ्चालक कृष्णा भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार हाल दैनिक १० लिटर दूध, दही र सातामा चार किलो पनिर वितरण गरिएको छ ।