मेलम्ची, ९ वैशाख (रासस)
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ स्वास्थ्य संस्थामा कोभिड–१९ परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको छ । पहिलो चरणमा जिल्लाका आठ स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
वितरित सामग्रीमा हरेक स्वास्थ्य एकाइका लागि पिपिई , थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पञ्जा, बुटलगायत छन् । जिल्लाका भोटेकोशी, त्रिपुरासुन्दरी र लिशंखुपाखर गाउँपालिका तथा बाह्रबीसे र चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गतका स्वास्थ्य एकाइका लागि ती सामग्री वितरण गरिएको छ । स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य माधव सापकोटाले नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गर्नुभयो ।
सबै स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ चिकित्सकबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताउनुभयो । उपलब्ध गराइएका पिपिई पुनःप्रयोग गर्न सकिने किसिमका छन् । सुनकोशी, बलेफी र जुुगल गाउँपालिका का स्वास्थ्यसंस्थाका लागि पनि लगत्तै स्वास्थ्य सामग्री वितरण गरिने नेता सापकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थामा बिरामी पुुग्दा उपयुक्त स्वास्थ्य सामग्रीको अभावमा जाँच गर्न अप्ठेरो भएको गुनासो आएपछि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित नेता सापकोटाको पहलमा ती स्वास्थ्य केन्द्रमा सामग्री पठाइएको हो ।
सामग्री बुुझेपछि स्थानीय तहका प्रमुुखले सभामुख सापकोटाको पहलप्रति खुशी व्यक्त गरेका छन् । बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले अहिलेको आवश्यकता नै स्वास्थ्य सामग्री भएकाले पहलका लागि सभामुखलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै भोटेकोशीका अध्यक्ष राजकुमार पौडेल, त्रिपुरासुन्दरीका अध्यक्ष भूपेन्द्र श्रेष्ठ, लिसंखुपाखरका अध्यक्ष कमल नेपाल र चौतारा साँगाचोकगढीका प्रमुख अमानसिं तामाङले सामग्रीका लागि सभामुख सापकोटालाई धन्यवाद दिनुभयो ।
स्थानीय तहका जनप्रतिनिधिले संकटमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दोस्रो चरणमा स्थानीय विपद् व्यव्स्थापन समितिसँग समन्वय गरेर खाद्य पदार्थलगायत सामग्री वितरणको तयारी गरिएको छ ।