हेटौँडा, ९ वैशाख (रासस)
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न स्थानीय तहका प्रमुखसँगको कुराकानीलाई आज पनि निरन्तरता दिनुभएको छ । मुख्यमन्त्री पौडेलले आज काभ्रेको धुलिखेल नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, धादिङको नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङबो गाउँपालिका, दोलखाको सैलुङ गाउँपालिका र जिरी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्नुभएको हो ।
भिडियो कन्फरेन्समार्फत गर्नुभएको कुराकानीमा उहाँले अब तीनवटै तहको प्राथमिकता रोजगार र उत्पादन हुनुपर्ने बताउनुभयो । “विकासका पूर्वाधार निर्माण नै हिजोको प्राथमिकता थियो । सडक, पुल तथा भवन हाम्रा प्रथमिकता थिए, अब रोजगार र उत्पादनको कुरा पहिलो प्राथमिकता हुन्छ”, पौडेलले भन्नुभयो ।
उहाँले कृषि नै उत्पादनको आधार भएकाले किसानलाई सुविधा दिइनुपर्ने धारणा राख्नुभयो । वास्तविक किसानलाई अनुदानमा बीउबिजन, मलखादलगायत सामग्री उपलब्ध गराइने उहाँको भनाइ थियो । “कोरोनाका कारण हाम्रो प्रदेशमा मात्र भारत तथा अन्य देशहरुबाट रोजगार गुमाएर १५ देखि २० लाख युवा फर्कने सक्ने प्रक्षेपणहरु भइरहेको सन्दर्भमा उनीहरुलाई समेत लक्षित गरेर रोजगारी वृद्धिका काम गरिनुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।
उहाँले वर्तमान अवस्थामा कोरोनाविरुद्ध काम गर्नका लागि स्थानीय तहले सङ्घीय वा प्रदेश सरकारकोे बजेट कुर्नु नपर्ने भन्दै स्थानीय तहसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्न सकिने बताउनुभयो । जुन ठाउँको स्रोत र साधन प्रयोग गरे पनि राज्यकै हितका लागि प्रयोग हुने उहाँको भनाइ थियो । स्थानीय तहलाई बाहिरी देशबाट आउने व्यक्ति, उनीहरुसँग संसर्ग भएका व्यक्ति पत्ता लगाउने काम जारी राख्न आग्रह गर्दै स्वास्थ्य परीक्षणका लागि तयारी हालतमा रहनुपर्ने बताउनुभयो । तत्कालका समयमा पैदलयात्रीलाई खानाको व्यवस्था गरी गन्तव्यतर्फ पठाउन सहजीकरण गर्नसमेत उहाँले आग्रह गर्नुभएको थियो ।