काठमाडौ, बैशाख ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको जनाएको छ । राप्रपाका अध्यक्षहरु पशुपती शमसेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले बिज्ञप्ती जारी गर्दे कोभिड–१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ’राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर गरेको छ । राप्रपाले भनेको छ, राजनीतिक दल सम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो संभावना देखिन्छ । यसैगरी संवैधानिक परिषद सम्बन्धि अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिन्छ ।
संभावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्य माथि आईपर्न सक्ने गंभीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु फिर्ता लिन राप्रपा सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गर्दछ । कोरोना भाईरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई राप्रपा आग्रह गरेको छ ।