काठमाडौ, बैशाख ८
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पछिल्लो आठ महिनामा कुल वस्तु निर्यात २२ दसमलव तीन प्रतिशतले बढेर ७४अर्ब ९१ करोड पुगेको जानकारी दिएको छ । राष्ट्र बैंकले आज सोमबार देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दे उक्त जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५ दसमलव छ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३५ दसमलव पाँच प्रतिशत र अन्य मुलुकतर्फ एक दसमलव एक प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १९ दसमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि,जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा कुल वस्तु आयात दुुई दसमलव छ प्रतिशतले घटेर नौ खर्ब २४ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३ दसमलव आठप्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात सात दसमलव पाँच प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दसमलव पाँच प्रतिशत र छ दसमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा,सुन, पेट्रोलियम पदार्थ,सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, मेची, तातोपानीर कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । ज्ञज्ञ।आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा कुल वस्तु व्यापार घाटा चार दसमलव तीन प्रतिशतले संकुचन भई आठ खर्ब ४९अर्ब ३३ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २४ दसमलव चार प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका आनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव पाँच प्रतिशत रहेको थियो ।