neapl investment mega bank
  • गृहपृष्ठ
  • पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका

पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै गाउँपालिका

Apr 20th, 2020

मुग्लिन, ८ वैशाख (रासस)

केन्द्र सरकारको निर्देशनानुसार चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् ।

लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो, “म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी पठाउने गरिएको उहाँले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरेका थिए ।

कोरोना राहत कोषमा सहकारीको ५५ हजार

यसैबीच साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारले कोरोना राहत कोषमा रु ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष नरबहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीताकुमारी गुरुङलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ को जोखिमबाट बच्नका लागि गरिएको लकडाउनपछि दैनिक ज्यालादारी र विपन्न वर्गलाई दैनिक छाक टार्न गाह्रो भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्वको बहन गर्दै कोरोना कोषमा आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष नेपालले बताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले धन्यवाद दिँदै सबै एकजुट भएर लागे कोरोनाबाट बच्न सकिने बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi