neapl investment mega bank
  • गृहपृष्ठ
  • कान्ति राजपथ सञ्चालन गर्न प्रदेश सरकारको आग्रह

कान्ति राजपथ सञ्चालन गर्न प्रदेश सरकारको आग्रह

Apr 15th, 2020

हेटौँडा, ३ वैशाख (रासस)

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेपाल सरकारद्वारा बोलपत्र आह्वान गरी निर्माण गरिएको काठमाडौँ जोड्ने कान्ति राजपथ सडकखण्डको मङ्गलबार अनुगमन गर्नुभयो ।

उहाँले आगामी तीन महिनाभित्र कान्ति राजपथको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्ने क्रममा वाग्मती सरकारको तर्फबाट सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गरिएको र तत्कालै उक्त राजमार्गको निर्माण कार्य शुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

नेपाल सरकारले विसं २०७१ मा कान्ति राजपथ निर्माणका लागि रु तीन अर्ब अनुदान उपलब्ध गराई बोलपत्र आह्वान गरी विभिन्न निर्माण व्यवसायीलाई निर्माण गर्न स्वीकृति प्रदान गरेको प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सात दोबाटोसम्मको करिब ९० किलोमिटर सडकको हालसम्म करिब ८० किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भइसकेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मकवानपुरको सिमात खोलादेखि मकवानपुर र ललितपुर जिल्लाको सिमाना बकुवाखोलासम्म विभिन्न ठाउँमा निर्माण गर्नुपर्ने र ललितपुर जिल्लाको भट्टेडाँडा नजिक पनि सडक निर्माण गरी यातायात सञ्चालन गर्नेतर्फ प्रदेश सरकारले छिट्टै पहल गर्नुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ बाढीपहिरोका कारण अवरुद्ध हुँदा काठमाडौँ उपत्यकालाई खाद्यान्न र इन्धनको आपूर्तिमा तत्कालै सहज तुल्याउन कान्ति राजपथ सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाली काँग्रेस वाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राससलाई बताउनुभयो । हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति राजपथ निर्माणका लागि २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारले नेपाली सेना परिचालन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

९०७ को परीक्षण : ६ जनामा पोजेटिभ

प्रदेशका १३ जिल्लामा होम क्वारेन्टाइनमा रहेकामध्ये मङ्गलबारसम्ममा कोरोना भाइरसका शङ्कास्पद ९०७ जनाको र्यापिड किट परीक्षण गर्दा भक्तपुर धादिङ र काभ्रेमा गरी छ जनाको रिपोर्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

र्यापिड किट परीक्षणमा पोजेटिभ फेला परेकाले उनीहरुको पुनः अर्को परीक्षणका लागि काठमाडाँै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको निर्देशनालयका प्रमुख रमेशप्रसाद अधिकारीले बताउनुभयो । र्यापिड किट परीक्षणमा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi