neapl investment mega bank
  • गृहपृष्ठ
  • स्पेनमा कोभिड–१९बाट थप सङ्क्रमितको सङ्ख्यामा कमी

स्पेनमा कोभिड–१९बाट थप सङ्क्रमितको सङ्ख्यामा कमी

Apr 14th, 2020

म्याड्रिड, २ वैशाख (रासस/सिन्ह्वा)

कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा विगत २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्यामा कमी आएको स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार सार्बजनिक तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै स्पेनमा दुई साता पहिलेको तुलनामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै ५० प्रतिशतले कमी आएको छ । यद्यपि सोमबारको सङ्क्रमित सङ्ख्याभन्दा मङ्गलबार सामान्य वृद्धि भएको छ ।

अघिल्लो दिन सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१७ रहेकोमा मङ्गलबार त्योभन्दा ५० व्यक्ति बढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुनेको सङ्ख्या १८ हजार ५६ पुगेको छ ।

स्पेनमा मङ्गलबार सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब ४५० व्यक्ति कम रहेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ७२ हजार ५४१ पुगेको छ भने पछिल्ला केही दिनहरूमा उपचारपछि निको हुने व्यक्तिको वृद्धि देखिएको मन्त्रालयले जनाएको छ ।

यहाँ उपचारपछि निको हुनेको सङ्ख्या ६७ हजार ५०४ पुगेको छ । निको भई घर फर्किनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार ७७७ रहेको मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।