काठमाडौँ, १ वैशाख (रासस)
भाटभटेनी सुपर स्टोर प्रालिले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई रु २५ लाख सहयोग गरेको छ ।
सङ्घीय सरकारबाट सो प्रदेशको समन्वयका लागि जिम्मेवारी पाउनुभएका खानेपानी तथा सरसफाइमन्त्री बिना मगर मार्फत प्रालिले सो रकम सहयोग गरेको हो । मन्त्री मगरलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आइतबार रु २५ लाखको चेक हस्तान्तरण गर्नुभयो । मन्त्री मगरले विषम परिस्थितिमा गरेको सहयोगका लागि प्रालिलाई धन्यवाद दिनुभयो ।