neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वाधीन राष्ट्रको रक्षार्थ दृढ र जिम्मेवार बन्नुपर्नेमा शेरचनको जोड

स्वाधीन राष्ट्रको रक्षार्थ दृढ र जिम्मेवार बन्नुपर्नेमा शेरचनको जोड

Apr 13th, 2020

पोखरा, १ वैशाख (रासस)

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वव्यापी रुपमा दुःख दिएको कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन लकडाउनको पूर्ण पालना गर्नु महत्वपूर्ण उपाय भएको बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश एवम् विदेशका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैको साझा चुनौती भएको बताउनुभएको छ ।

विसं २०७६ संघीयताको मूल मर्मबमोजिम कानून निर्माण एवम् संस्थागत सुदृढीकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको उल्लेख गर्दै उहाँले जनताको ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् कामना गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले राष्ट्रियता र राष्ट्रिय अखण्डताको पूर्ण रक्षा गर्न दृढ संकल्पित हुँदै विश्व मानचित्रमा अंकित हाम्रो स्वाधीन राष्ट्रको रक्षा गर्न दृढ र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।