neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघका अध्यक्ष राणाद्धारा शुुभकामना व्यक्त , बैक तथा बित्तीय संस्थाको कर्जा किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउन सुझाव

महासंघका अध्यक्ष राणाद्धारा शुुभकामना व्यक्त , बैक तथा बित्तीय संस्थाको कर्जा किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउन सुझाव

Apr 10th, 2020

काठमाडौ, चैत २८

नेपाल उद्योग बाँणिज्य महासंघकी अध्यक्ष भवानी राणाले शुुभकामना सन्देश दिएकीछन । उद्योग वाणिज्य दिवस–२०७६ का अवसरमा महासंघका अध्यक्ष राणाले आज एक शुभ–कामना सन्देश जारी गर्दै सबैमा हार्दिक शुभ–कामना व्यक्त गरेकी हुुन ।

अध्यक्ष राणाद्धारा जारी गरिएको शुुभकामना सन्देशमा भनिएको छ, नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन चैत्र २८ गतेलाई महासंघले हरेक वर्ष उद्योग वाणिज्य दिवसको रूपमा मनाउंदै आएको छ । निजी क्षेत्रको लागि आजको पावन अवसरमा महासंघका सबै सदस्य संघ÷संस्थाहरू, यससंग आवद्ध उद्यमी व्यवसायीहरू, उद्योग व्यवसायको महत्वपूर्ण अंगको रूपमा रहेका श्रमिक तथा कामदार साथीहरू, मुलुकभित्र र बाहिर रही मुलुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको उत्थानमा निरन्तर क्रियाशिल समुदाय, महिला उद्यमीहरू सहित आम नेपाली दाजुभाई तथा दिदी वहिनीहरूमा महासंघको अध्यक्षको तर्फबाट हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
व्यवसायिक सफलता एवं मुलुकको अर्थतन्त्रको सुरक्षा एवं प्रगतिको कामना गर्दछु ।

निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती र महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बीच ठूलो संग्राम भैरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि ग्रसित भैरहेका छन् । सरकार, निजी क्षेत्र र आम जनसमुदाय मुलुकभित्र कोभिड–१९ को महामारी फैलन नदिन लडीरहेको छ । विशेष गरी महामारी रोकथाममा आफ्नो स्वास्थ्यको समेत परवाह नगरी अहोरात्र फ्रन्ट लाइनमा रहेर खटिरहेको स्वास्थ्य क्षेत्रको जनशक्ति, सुरक्षा निकायप्रति नमन गर्दै उहाहरूप्रति सिंगो निजी क्षेत्र आभार प्रकट गर्दछ । अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ । सम्भावित चुनौतीसंग लड्न सरकार, निजी क्षेत्र सहित सिंगो मुलुकनै एक ढिक्का भएर जानुुको विकल्प छैन । यो जटिल परिस्थितिमा निजी क्षेत्र उच्च व्यवसायिक निष्ठाका साथ क्रियाशिल भई सरकारलाई साथमा साथ दिन तयार छ ।

आजको यस पावन अवसरमा सम्भावित चुनौतीसंग लडदै मुलुकभित्रका आम नागरिकको स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रको सुरक्षामा हामी सबैलाई सफलता मिल्ने पूर्ण विश्वासका साथ पुनः एक पटक उद्योग वाणिज्य दिवस–२०७६ का अवसरमा सबैमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

यसैगरी अध्यक्ष राणाको नेतृत्वमा गएको महासंघको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले आज माननीय अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रालयमा भेटी कोरोना भाइरस (कोभिड १९) ले परेको प्रभावका कारण आर्थिक पुनर्रउद्धारका लागि महासंघको सुझाव पेश गरेको छ । कोभिड १९ को रोकथाम र नियन्त्रणको लागि मुलुक लगातार लकडाउनमा जानुपरेका कारण उद्योग, व्यापार तथा व्यवसाय सम्पूर्ण ठप्प रहेको र लकडाउन पश्चात कम्पनी तथा फर्म खुले पनि नगद प्रवाह को व्यवस्थापन गर्न कम्पनी तथा फर्मलाई अत्यन्त चुनैतिपूर्ण हुनेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउंदै तत्कालका लागि उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रलाई पुनर्रउद्धार गर्न सुझावहरु दिएको छ ।

यस अन्र्तगत पर्यटन, निर्यात, उत्पादन मुलक र कृषि क्षेत्रको लागि २०७६ चैत्र महिना देखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी तथा फर्म (प्रतिष्ठान) ले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने उल्लेख छ । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दि मा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने उल्लेख छ । अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म (प्रतिष्ठान) हरुले २०७६ चैत्र महिना देखि कर्मचारी तथा कामदारको छ महिनाको तलब, ज्याला भुक्तानीको लागि दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जाको व्यवस्था गरिनु पर्ने सुझाव दिएको छ । उक्त ऋण कम्पनी तथा फर्मले किस्ता बन्दिमा एक वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने माग समेत महासंघले गरेको छ ।