– कृष्णप्रसाद शर्मा
लण्डन, २८ चैत (रासस)
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको । उक्त सन्देशमा बेलायतमा रहनुहुने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बेग्लै सन्देश पठाई प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ ।
गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गर्नुभएको थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराउनुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाउनुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भाइरसका बुधबार कारण मृत्यु भएको छ । उहाँ भूपु गोर्खा सैनिक हुनुहुन्थ्यो ।