neapl investment mega bank
  • गृहपृष्ठ
  • खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा सङ्क्रमणको जोखिम कम हुने

खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा सङ्क्रमणको जोखिम कम हुने

Apr 7th, 2020

–सञ्चिता घिमिरे
काठमाडौँ, २५ चैत (रासस)

अहिले ‘लकडाउन’ का समयमा अत्यावश्यक सामग्री किन्न घर बाहिर निस्कँदा आवश्यक सुरक्षा सामग्रीको प्रयोग गर्ने र ल्याइएका खाद्यान्न सुरक्षित गरेर मात्रै भान्सामा प्रवेश गराउँदा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ ।

तरकारी, फलफूल, दूधलगायतका खाद्य सामग्री किन्न जाँदा माक्स, पञ्जा, चस्मालगायतका सामग्री प्रयोग गर्ने र किनेर ल्याइएका सामग्री पनि सुरक्षित गरेर मात्रै भान्सामा प्रवेश गराउँदा बजार जाने व्यक्तिसँगै उसको परिवार सुरक्षित बनाउँछ । अत्यावश्यक खाद्य सामग्री किन्न सकेसम्म घरका युवा जाने र सधैँ एउटै व्यक्ति जाँदा उपयुक्त हुने जनस्वास्थ्य ज्ञिज्ञ डा रवीन्द्र पाण्डेले बताउनुभयो । जवान व्यक्तिमा रोगसँग लड्ने क्षमता बढी हुने र रोग लागिहाल्दा पनि उसलाई निको हुने सम्भावना बढी रहने उहाँले बताउनुभयो । सधैँ एउटै व्यक्ति जाँदा उसले बाहिर जाँदा लगाउने कपडा, माक्सलगायतका कुरा तयारी अवस्थामा हुन्छ ।

त्यस्तै अहिले कतिपय पसल बन्द भएकाले खोजिएकै स्थानमा खोएिको सामग्री नपाउने पनि सम्भावना छ । आवश्यक पर्दा सामान किन्न टाढा जानुपर्दा पनि युवालाई गाह्रो हुँदैन । सामान किन्न जाने व्यक्तिले बाहिर निस्कँदा माक्स, पञ्जा, चस्मा लगाउनुपर्छ । उहाँले भन्नुभयो, “बाहिर प्रयोग भएका ती सामग्री घर बाहिर राखेर मात्रैभित्र प्रवेश गर्नुपर्छ ।”

प्रत्येक व्यक्तिले घर बाहिर जाँदा आफूले छुने कुनै पनि कुरासँगै कोभिड–१९ को सङ्क्रमण आउन सक्छ भनी सावधानी अपनाउनुपर्ने डा पाण्डेले बताउनुभयो । शहरी क्षेत्रमा अधिकांश व्यक्तिका घरमा दाल, चामलगायतका कुरा स्टक भए पनि तरकारी, फलफूल र दूध किन्नका लागि दैनिकजसो बाहिर निस्कनुपर्छ । यी सामान किन्न जाँदा सकेसम्म खुद्रा पैसा मिलाएर निस्कनुपर्छ । कागज र त्योभन्दा पनि सिक्का पैसाबाट रोगको सङ्क्रमण प्रवेश गर्नसक्ने हुँदा त्यसप्रति सजग रहनुपर्छ । उहाँले भन्नुभयो, “नियमित जाने पसल हो भने पैसा फिर्ता लिनुभन्दा अर्को दिन मिलाउन पनि सक्नुहुन्छ ।”

घर ल्याएपछि पनि आवश्यक सुरक्षित बनाएर मात्रै तीनलाई भान्सामा प्रवेश गराउनुपर्ने उहाँको सुझाव छ । ग्यासको सिलिण्डर बाहिरबाट ल्याउँदा त्यसलाई साबुनपानीले धोएर मात्रैभित्र प्रवेश गराउन सकिन्छ ।

तरकारी, फलफूल घरभित्र ल्याएपछि झण्डै आधा घण्टा घाममा राख्ने र ल्याएका झोला र कागजलाई सकेसम्म बाहिर नै व्यवस्थापन गर्न सकिन्छ । घाममा सुकाएको तरकारीलाई गहिरो भाँडा ९बाटा० मा खन्याउने र त्यसलाई कागतीपानी वा खाने सोडापानीमा डुबाएर राख्नुपर्ने उहाँले बताउनुभयो । त्यो उपलब्ध नहुँदा मनतातो पानीमा अलिकति नुन हालेर त्यसमा डुबाउँदा पनि यसलाई सुरक्षित गर्न सकिन्छ ।

मनतातो पानीमा झण्डै आधा घण्टा डुबाएपछि त्यसलाई मिचीमिची धारोको पानीले धुनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “कडा तरकारी वा फलफूललाई मिचीमिची धुन सकिन्छ भने साग वा अङ्गुरजस्ता नरम खानेकुराको पत्रपत्रसम्म सफा हुने गरी धोएर ओभानो बनाउनुपर्छ ।”

यो समयमा खानेकुरा खाँदा पनि सकेसम्म बाहिरी बोक्रा निकालेर खाँदा सुरक्षित बन्न सकिने उहाँले बताउनुभयो । प्याजका बाहिरी पत्र, काउलीको पात झिकेर पकाउन उपयुक्त हुन्छ भने मूला, गाँजरलगायतका सलाद खाँदा पनि बाहिरी भाग ताछेर खानुपर्छ । अहिले चामल सकिएर ल्याउनुभएको छ भने पनि त्यसलाई झण्डै आधा घण्टा घाममा सुकाएर बाल्टिनमा खन्याएर मात्रै भान्सामा लानु सुरक्षित हुने उहाँको सुझाव छ । चामलको बोरासँगै सङ्क्रमण घरभित्र जाने हुँदा त्यसलाई बाहिरै व्यवस्थापन गर्नु स्वास्थ्यका हिसाबले राम्रो हुन्छ ।

कोभिड–१९ को अहिलेसम्म औषधि र खोप पत्ता लागिनसकेकाले आफू सङ्क्रमितको सम्पर्कमा नजानु नै एकमात्रै उपायका रुपमा रहेको डा पाण्डेले बताउनुभयो । सरकारले लागू गरेको ‘लकडाउन’ हामी सबैका लागि हो भनी बुझेर घरभित्रै बस्ने र अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कँदा रोगबाट बच्न र बचाउन सकिने उहाँले बताउनुभयो । जति भीडभाडमा गइन्छ रोग लाग्ने जोखिम उति हुन्छ भने घरमा बस्दा जोखिम उत्तिकै कम हुने उहाँले बताउनुभयो ।

ज्येष्ठ नागरिक, दीर्घरोगी व्यक्ति घरमा छन् भने उनीहरुको विशेष ख्याल गर्न जरुरी छ । सबैले समय–समयमा हात धुने र सेनेटाइजरको प्रयोग गर्नाले पनि हातबाट नाक, मुख वा आँखासम्म सङ्क्रमण जान नसक्ने उहाँले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi