neapl investment mega bank

भारतबाट १७३ मालबाहक गाडी भित्रिए

Apr 7th, 2020

जनकपुरधाम, २५ चैत (रासस)

भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको सचिव घिमिरेले बताउनुभयो । त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालबाहक गाडी गएको छ ।

लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पु¥याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ ।

भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ । उनीहरु भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो । उनीहरुलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच दिल्लीको निजामुद्दीनमा हालै सम्पन्न धार्मिक सभामा सहभागी भएका रोतहटको क्वारेन्टाइनमा रहेको १४ र वाराको क्वारेन्टाइनमा रहेका १० जना स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको सचिव डा घिमिरे बताउनुभयो । प्रदेश नं २ मा अहिलेसम्म ११९ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा १०३ को रिपोर्ट नेगेटिभ आएको र १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश नं २ मा ९३६ क्वारेन्टाइनमा, एक हजार २१३ जना होम क्वारेन्टाइनमा र २२ जना आइसोलेशनमा छन् ।