neapl investment mega bank
  • गृहपृष्ठ
  • सीमानाकामा बन्द गर्नेविरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा मङ्गलबार

सीमानाकामा बन्द गर्नेविरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा मङ्गलबार

Apr 6th, 2020

काठमाडौँ, २४ चैत (रासस)

सर्वोच्च अदालतमा सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ ‘हेर्दाहेर्दै’मा मङ्गलबारका लागि तय भएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा बहस शुरु भए पनि बहस नसकिएको हुँदा हेर्दाहेर्दैमा भोलि मङ्गलबार सुनुवाइ हुने भएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले यही चैत १२ गते सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । छलफलका लागि दुवै पक्षलाई आज बोलाइएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठवटा सरकारी निकाय तथा समितिलाई विपक्षी बनाई अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले यही चैत १० गते सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा नेपाली नागरिकलाई विदेशमा असुरक्षित रुपमा राख्नुपर्ने आवश्यकता नरहेकाले नेपाल आउन चाहने प्रत्येक नेपालीलाई प्रवेश निषेध नगरी सहज आउन दिनुपर्ने र आफै आउन नसक्नेलाई सरकारले उद्धार गरी ल्याउनसमेत रिट निवेदनमा माग गरिएको थियो ।

त्यसैगरी महाकाली नदीपारि रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेश दिन माग गर्दै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अन्तरिक आदेश दिन अस्वीकार गरेको थियो । उक्त विषय पनि हेर्दाहेर्दैमा मङ्गलबारका लागि राखिएको छ ।

अधिवक्ता मनीषकुमार श्रेष्ठलगायत छ जना कानून व्यवसायीद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा नेपाली जुनसुकै देश तथा ठाउँमा भए पनि उनीहरुको उद्धार गर्ने जिम्मा सरकारको भएको उल्लेख गर्दै महाकाली नदी पारि रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारलाई आदेश दिन माग गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi