neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह

काँग्रेसद्वारा कोरोना परीक्षणको व्यापकता बढाउन आग्रह

Apr 4th, 2020

काठमाडौँ, २२ चैत (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीमा एक महिलामा स्थानीय व्यक्तिबाट कोरोना भाइरस सङ्क्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिइ परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ ।

नेपालमा हालसम्म सङ्क्रमण देखिएका सबै विदेश यात्राबाट आएका नेपाली भए पनि कोरोना भाइरसको सातौँ सङ्क्रमण स्थानीयमा देखिनुको अर्थ मुलुक अब दोस्रो चरणमा पुगेको काँग्रेसले जनाएको छ । काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत ती महिलाले सङ्क्रमण मुलुक बाहिरबाट लिएर नआएको तर सतर्कता नअपनाउँदा सङ्क्रमित बन्न पुगेको उल्लेख गर्नुभएको छ । “समयमै दोहोरो अन्तरराष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन”, उहाँले उल्लेख गर्नुभएको छ ।

यसअघि सङ्क्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूह सबैको तत्काल परीक्षण गर्न उहाँले सरकारसँग अपिल गर्नुभएको छ । काँग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।

प्रवक्ता शर्माले भन्नुभएको छ, “आजको दिन सबैखाले ढिलासुस्ती र अकर्मण्यतालाई छोडेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ ।” अब कुनै पनि हेलचेक्र्याइँ गर्दा समुदायमा सङ्क्रमण फैलिने र परिणाम भयावह हुने भन्दै उहाँले समयको गम्भीरताअनुरुप सरकारलाई गति बढाउन आग्रह गर्नुभएको छ ।