neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाका बिरामी हेर्नेको थप रु २५ लाखको बीमा गरिँदै

कोरोनाका बिरामी हेर्नेको थप रु २५ लाखको बीमा गरिँदै

Apr 2nd, 2020

चितवन, २० चैत (रासस)

भरतपुर अस्पतालले कोरोना भाइरसको आशङ्का गरिएका बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि थप रु २५ लाखको बीमा गरिदिने भएको छ । उनीहरुले नेपाल सरकारले तोकेभन्दा २५ प्रतिशत थप प्रोत्साहन भत्तासमेत पाउने भएका छन् ।

केन्द्रीय अस्पताल बनेपछि विकास समिति गठनसँगै आज बसेको पहिलो बैठकले सरकारले कर्मचारीलाई रु २५ लाखको बीमा गरिदिएकामा अर्को रु २५ लाखको बीमा थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोनाको आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारमा संलग्न हुनेलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने यसअघि नै घोषणा गरिसकेको छ ।

विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उपचारमा संलग्नलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउने र क्वारेन्टाइनमा बस्नुपर्नेका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना नियन्त्रणका लागि भरतपुर अस्पतालको नेतृत्वमा दुई वटा मेडिकल कलेज र निजी अस्पताललाई समेत समावेश गरी कोरोनाको सङ्क्रमणको आशङ्का र सङ्क्रमित भएकालाई उपचारको आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै मुलुक बन्दको यस अवस्थामा कोरोनाको आशङ््का गरिएका बिरामीलाई चिकित्सकको परामर्शमा अस्पतालले एम्बुलेन्स घरमा नै पठाएर उनीहरुलाई अस्पताल ल्याउने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो । सोका लागि अस्पताल परिसरमा तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । बैठकले भरतपुर महानगरपालिकाले सञ्चालन गरेको कोरोना विशेष (अस्थायी) अस्पतालका लागि सम्पूर्ण प्राविधिक सहयोग भरतपुर अस्पतालले उपलब्ध गराउने निर्णय गरेको छ ।

सो अस्पताललाई भरतपुर अस्पतालसँग के कसरी समायोजन गर्ने भन्ने विषयमा योजना तयार गर्न अस्पताल विकास समितिका सदस्य एवं महानगरपालिका प्रमुख रेनु दाहाललाई जिम्मा दिइएको छ । अस्पतालले अपाङ्गताको रातो र निलो परिचयपत्र भएका बिरामीलाई बहिरङ्ग सेवा पूरै निःशुल्क गर्ने र पहेलो परिचयपत्र भएकालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको समय तीन महिना थप गरी अर्को बैठकमा दीर्घकालीन उपायको खोजी गर्ने निर्णय बैठकले गरेको छ । बुधबार अध्यक्षको पदभार ग्रहण गर्नुभएका अधिकारी यसै अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँले आफू अध्यक्ष भएसम्मका लागि बेतलबी बिदाको माग गर्नुभएकामा बैठकले सोको स्वीकृति दिएको छ ।