neapl investment mega bank
  • गृहपृष्ठ
  • मागबमोजिमको मास्क उत्पादन गर्न कैदीबन्दी तयार

मागबमोजिमको मास्क उत्पादन गर्न कैदीबन्दी तयार

Apr 2nd, 2020

–अञ्जली थापा
चुरियामाई, २० चैत(रासस)

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन् । कारागार प्रशासनका अनुसार कारागारको सजाय भुक्तानी गर्नु अगाडिदेखि नै सिलाइ पेशामा रहेका सात कैदीबन्दीले मास्क उत्पादन थालेका हुन् ।

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि भीमफेदी कारागारका कैदीले मास्क उत्पादन गर्न थालेको बताइएको छ । उक्त कारागारबाट दैनिक दुई सयदेखि तीन सय मास्क उत्पादन हुने र हेटौंँडा तथा काठमांडौंँमा पठाइने गरेको कारागार प्रमुख जेलर प्रकाश खनालले बताउनुभयो । बजारमा रु ३० देखि रु ५० सम्मा बिक्री हुने मास्क कारागारले रु २० मा बिक्री गर्ने योजना बनाएको खनालले जानकारी दिनुभयो । माग भएमा दैनिक एक हजार मास्क उत्पादन गर्न सक्ने कैदीबन्दीको भनाइ छ ।

यसका साथै कारागारमा गलैंँचा, मुडा र बोधिचित्तको माला बुनाइलगायतक काममा कैदीबन्दी व्यस्त छन् । कारागारमा उत्पादन भएका सामग्रीहरु तेस्रो मुलुक निर्यात भए पनि कोरोनाले विश्वव्यापी आक्रमण गरेपछि भने हाल यी कार्य रोकिएको उहाँको भनाइ छ ।

बजारमा स्यानिटाइजरको माग उच्च

कोभिड—१९ को विश्वव्यापी महामारी फैलिएपछि भारतबाट आयातीत करीब रु एक करोडको स्यानिटाइजर बिक्री भएको उद्योग वाणिज्य संघ मकवानपुरले जनाएको छ । औषधि र किराना पसलमा गरेर उक्त रकम बराबरको स्यानिटाइजर बिक्री भएको संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।

करीब चार हजार किराना पसल दर्ता भएका र अझ दर्ता नभएका गरी सबैबाट स्यानिटाइजरको बिक्री भइरहेको उहाँको भनाइ छ ।

सामान्य अवस्थामा निजी अस्पताल र शिशु भएका केही घरमा मात्र खपत हुने गरेको स्यानिटाइजर हाल बजारमा उच्च मागमा रहेको छ । भारतबाट आयात गरेर बिक्री गर्ने गरिएको स्यानिटाइजर बजारमा अभाव हुन थालेपछि र माग उच्च भएपछि हेटौंँडामा यसको उद्योग नै संचालनमा आएको छ ।

हेटौंँडा—८ का ५० वर्षीय ऋदयराज गौतमले तीन वर्षअघि घरेलुमा दर्ता गर्नुभएको ऋद्धिसिद्धि कस्मासिकल उद्योगले अहिले स्यानिटाइजर उत्पादन गरिरहेको छ । औषधिजन्य गुण भएका शृङ्गारका सामग्री उत्पादन गर्ने उद्देश्यले दर्ता गरिएको उद्योगले स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेको उद्योगका सञ्चालक गौतमले बताउनुभयो ।

उहाँले कच्चा पदार्थ भारतबाट समेत ल्याउनु नपर्ने बताउँदै चिनी मिलबाट अल्कोहल, हेटाँैंडा र वीरगञ्जबाट ग्लिसरिन, हाइड्रो प्याराअक्साइडलगायत खरिद गरिरहेको जानकारी दिनुभयो । गौतमको उद्योगले कोरोनाको संक्रमण विश्वव्यापी भएसंँगै २० हजार बोतल स्यानिटाइजर उत्पादन गरेर बिक्री गरेको बताएको छ । हेटाँैंडामा यसअघि भारतीय कम्पनीका स्यानिटाइजर मात्र बिक्री हुने गरेको र घरेलु उत्पादन शून्य थियो ।