neapl investment mega bank
  • गृहपृष्ठ
  • धनगढीमा उपचाररत कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन

धनगढीमा उपचाररत कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन

Apr 2nd, 2020

धनगढी, २० चैत (रासस)

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ । दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।

सङ्कलित स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अस्पतालको आकस्मिक विभाग प्रमुख डा।जगदीश जोशीले बताउनुभयो । सङ्क्रमितका परिवारका सदस्याको नमूना सङ्कलन गर्न जरुरी नदेखिएको भन्दै यस अघि नमूना सङ्कलन गरिएको थिएन । सङ्क्रमित धनगढीका ३४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बुधबारसम्म पाँच स्वास्थ्यकर्मीसहित ३९ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएकामा एक जनामा पोजेटिभ, २५ मा नेगेटिभ देखिएको र अन्य १३ को जानकारी आउन बाँकी रहेकोे अस्पतालले जनाएको छ ।

नेपाल सरकारले कारोनाको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका लागि पठाएको पोर्टेबल पिसिआर मेसिनको जडान भइरहको छ । यो उपकरणबाट नमूनाको परीक्षण शुरु गरिएपछि यस अघिसम्म नमूना जाँचका लागि काठमाडौँ पठाउनुपर्ने समस्या समाधान हुने छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि विभिन्न ठाउँमा बुधबारसम्म ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको शङ्कास्पद सात जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म आइसोलेसनबाट १९ जना उपचारपछि फिर्ता भएको जनाइएको छ ।