neapl investment mega bank

काठमाडौँ उपत्यकामा खानेपानीको अभाव

Mar 31st, 2020

काठमाडौँ, १८ चैत (रासस)

यो महिना वर्षको सबैभन्दा कम पानी उत्पादन हुने महिना भए पनि काठमाडौँ उपत्यकामा खानेपानीको अभाव यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा कम भएको छ । कोभिड–१९ को त्रासका कारण धेरैले सरकारले ‘लकडाउन’ घोषणा गर्नु पहिले नै उपत्यका छाडेकाले यो वर्ष पानीको अभाव कम भएको हो ।

काठमाडौँ उपत्यकामा हालको स्रोतले वर्षामा समेत मागअनुसार पानी वितरण हुन सक्दैन । चैत, वैशाखको महिना वर्षभरमै सबैभन्दा कम पानी हुने महिना भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । लिमिटेडले हाल क्षमतानुसार पानी वितरण गरिरहेको प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

भूकम्पका समयमा घरभित्र जान त्रासका कारण ट्याङकरबाटै बढी पानी वितरण गरिएकामा लिमिटेडले अहिले भने घरमै पानी पु¥याउन लागिपरेको छ । लिमिटेडले सार्वजनिक ट्याङ्कीबाट पनि पानी ग्राहकका घर घरमा जाने पाइपमै पठाउने गरेको छ । उहाँले भन्नुभयो, “सार्वजनिक धारामा मानिसको भीडभाड हुनसक्ने भएकाले हामीले सकेसम्म बढी पानी घर घरमै पठाइरहेका छौँ ।”

कर्मचारीलाई आवश्यक सावधानी अपनाएर फिल्डमा काम गरिरहेको उहाँले बताउनुभयो । कर्मचारी फिल्डमा जान जोखिमपूर्ण भएकाले उपलब्ध भएसम्ममा सुरक्षा सामग्री दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मास्क र पञ्जा र सेनिटाइजर दिए पनि एप्रोन दिन सकिएको छैन ।” काठमाडौँ उपत्यकामा अहिलेको अवस्थामा सुख्खा मौसममा दैनिक नौ करोड लिटर पानी लिमिटेडले वितरण गर्दै आएको छ ।