neapl investment mega bank

घाट सेवामा ‘पिपिई’ नहुँदा असहज

Mar 31st, 2020

काठमाडौँ, १८ चैत (रासस)

पशुपति घाट सेवाका कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षामा आवश्यक पर्ने ‘पिपिई’ लगायत सामग्री नहुँदा काममा असहजता आएको छ ।

सुरक्षाका लागि घाट सेवाका कर्मचारीलाई धोती फेर्नुपर्ने र जुत्ता फुकाल्नुपर्ने नियमलाई आपत्कालका लागि सहुलियत दिई काम लगाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

“‘पिपिई’ बजारमा किन्न खोज्दा पाइएन, सरकारले उपलब्ध गराउन गरेको प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेको छैन, केही दिनमा ‘पिपिई’ दिने प्रतिबद्धता सरकारले जनाएको छ, त्यतिञ्जेललाई कपडा र जुत्ता लगाएर शव जलाउन सकिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो ।

पासकै कारण भने घाट र मन्दिर सेवाको काम भने प्रभावित नभएको कोषले जनाएको छ । सुरक्षामा खटिएका प्रहरीले पास नभए पनि घाट र मन्दिर सेवाका कर्मचारीलाई रोकेको छैन ।

घाटमा सुरक्षा सामग्री नहुँदा भने कसैले काम गर्ने र कसैले नगर्ने गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । घाट सेवाका कर्मचारीले मृतक सबै कोरोनाकै बिरामी हुन् कि भन्ने शङ्काले शव जलाउन नमानेका हुन् । कर्मचारीका परिवारले पनि रोग फैलन सक्ने भएकाले काम नगर्न भन्दै दबाब दिएको कोषले जनाएको छ ।

कर्मचारीले काम नगरेपछि मृतकका परिवार र आफन्तले नै शव जलाउन थालेको सदस्य सचिव ढकालले सुनाउनुभयो । पशुपति मन्दिरभित्र नित्य पूजा, रुद्राभिषेकजस्ता कर्म भने पूर्ववत् नै चलिरहेको जनाइएको छ ।