आधारभुमि संवाददाता,
काठमाडौं, १६ चैत
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि थप्नु पर्ने निष्कर्ष निकालेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको हो।
स्रोतका अनुसार, आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लक डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको छ।
यसका साथै आज बसेको बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ। लक डाउन थप र राहतबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक केही बेरमा बस्ने जनाइएको छ ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।