काठमाडौँ, १५ चैत
बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ ।बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिनुभयो ।
अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।
त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।