neapl investment mega bank

महावीर पुनले निःशुल्क पिपिई दिने

Mar 27th, 2020

काठमाडौँ, १४ चैत (रासस)

मेगेसेसे पुरस्कार विजेता महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पिपिई) निःशुल्क उपलब्ध गराउने हुनुभएको छ ।

बिहीबारदेखि पिपिई बनाउन थाल्नुभएका पुनले सरकार र अस्पताललाई आफूले निःशुल्क रुपमा उक्त सामग्री वितरण गर्ने बताउनुभयो ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उहाँले बताउनुभयो । “एउटा पिपिई बनाउनका लागि एक हजार पर्छ”, उहाँले भन्नुभयो, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पिपिई उत्पादन गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहनुभएका पुनका अनुसार एकजना मजदुरले दिनमा आठवटा पिपिई बनाउने छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बिपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उहाँले बनाउन थाल्नुभएको हो । “शिक्षण अस्पतालका चिकित्सकले एउटा नमूना दिनुभयो” उहाँले भन्नुभयो, “अनि त्यही नमूनाअनुसार मैले पिपिई बनाउन थालेको हँु ।” उहाँले पिपिई बनाउन थालेपछि जिल्लाका अस्पतालबाट चाहियो भनेर फोन आउने गरेका छन् ।

मजदुर र कच्चा पदार्थको अभाव

पुनले कोरोना भाइरस रोकथाम गर्न प्रयोग गरिने पिपिई आफूले उत्पादन गरे पनि अहिले लकडाउनका कारण मजदुर र कच्चा पदार्थको अभाव भएको बताउनुभयो ।

‘‘मैले चाहिनेजति नै पिपिई बनाउने थिएँ’’ उहाँले भन्नुभयो, ‘‘तर अहिलेको अवस्थाले गर्दा मजदुर र कच्चा पदार्थ पर्याप्त नपाइएकाले धेरै बनाउन समस्या भइरहेको छ ।’’ उहाँले पिपिई बनाउन चाहिने कच्चा पदार्थ र मजदुर अहिले खोजिरहनुभएको छ ।