neapl investment mega bank
  • गृहपृष्ठ
  • सिमकोटमा आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान प्रवेश निषेध

सिमकोटमा आपतकालीन कोष खडा, एकबाट अर्को वडामा जान प्रवेश निषेध

Mar 26th, 2020

सिमकोट, १३ चैत (रासस)

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ ।

सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन रु १० लाख बजेट व्यवस्था गरी कोष खडा गरेको हो । ती गाउँपालिकामा बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै आपत परिहाले तत्काल खर्च गर्न हामीले कोष खडा गरेका छौँ ।” त्यस्तै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि एक गाउँबाट अर्को गाउँ र वडा प्रवेशमा निषेध लगाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

आवश्यकतानुसार कोषमा पैसा हेरफेर गर्न सकिने गरी निर्णय भएको गाउँपालिकाका प्रवक्ता रुपसिंह सुनारले बताउनुभयो । पालिका प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिल्ला बाहिर रहे पनि बैठकले आपतकालीन कोष खडा गरेको उहाँले बताउनुभयो ।

बैठकले वडा नं १ देखि ८ सम्मका कोहीकसैमा समस्या वा कोरोनासम्बन्धी जानकारी लिनुपरेमा तीन जनालाई सम्पर्क गर्न भनिएको छ । अध्यक्ष पदमबहादुर लामा ९८५८३२०५२९, उपाध्यक्ष वलि रावत ९८५८३२२१५३ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया ९८५८०२८९२१ लाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता सुनारले जानकारी दिनुभयो ।