neapl investment mega bank
  • गृहपृष्ठ
  • घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Mar 25th, 2020

काठमाडौँ, १२ चैत (रासस)

कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ ।

ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य जस्तै देखिन्थ्यो । ग्रामीण भेगमा खुलेका खाद्यन्न तथा तरकारी पसलमा बिहानदेखि नै सर्वसाधारण पुगेका थिए । सधँैजसो नियमित कामका लागि सबेरै निस्कने अनि दिनभरको काम गरेर घर पुग्ने कर्मचारी, उद्योगी र व्यवसायी भने दिनभर घरैमा बस्नु परेकामा पट्यार मानिरहेका थिए । यद्यपी परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ राख्न योगदान पु¥याउने बाध्यात्मक अवस्थका कारण घरमै बसेर पुस्तक पढ्ने, टेलिभिजन हेर्ने तथा अन्यघरासी काममा समय बिताएका थिए ।

सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारी साधनलाई आवश्यकता मूल्यांकनका आधारमा सुरक्षा निकायले अनुमति दिइएको थियो ।