neapl investment mega bank

आदेश उल्लङ्घन गर्ने पाँच पक्राउ

Mar 25th, 2020

भीमदत्तनगर, १२ चैत (रासस)

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने पाँच जनालाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरूलाई कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आदेश विपरीत सञ्चालन गरेका सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिनुभयो । “नियन्त्रणमा लिएकालाई साँझ छोड्र्छौँ”, उहाँले भन्नुभयो । प्रहरीले सूचना जारी गरी लकडाउनबारे माइकिङ समेत गर्दै आएको छ । वडा प्रहरी कार्यालय भीमदत्तनगरले मङ्गलबार पनि लकडाउनलाई बेवास्ता गर्नेलाई नियन्त्रणमा लिएको थियो ।

यसैबीच पश्चिमी नाका गड्डाचौकीको अवस्था आज सामान्य रहेको छ । बिहानैदेखि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरिएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सशस्त्र प्रहरीलाई बजार, सीमा र राजमार्गमा बिहानैदेखि परिचालन गरिएको बताउनुभयो । मङ्गलबार सीमामा अलपत्र परेका यात्रुको स्वास्थ्य परीक्षण गरी गन्तव्यतर्फ पठाइएको पनि उहाँले बताउनुभयो ।