neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने तीन सय गाडी नियन्त्रणमा

नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने तीन सय गाडी नियन्त्रणमा

Mar 25th, 2020

काठमाडौँ, १२ चैत (रासस)

कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उहाँले उल्लेख गर्नुभयो । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताउनुभयो । मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।