neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

Mar 24th, 2020

काठमाडौं, ११ चैत

सर्लाही, नवलपरासी(पश्चिम), कैलाली, चितवन, धनुषा, सिरहा, मोरङ र ओखलढुङगाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

सर्लाही, बसवरिया गाउँपालिका-३ मधुबनीस्थित सडकमा नम्बरप्लेट नभएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक धनकौल गाउँपालिका-७ बस्ने २० वर्षीय कृष्ण साह कानुको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ स्थित सडकमा लु.२ च ९२२४ नम्बरको बलेरो जिपले सोमबार साँझ लु.२८ प ६०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-११ मौराहाटाडी बस्ने ४५ वर्षीय बिश्वराज गिरीको सामुदायिक अस्पताल चिसापानी बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-१८ स्थित सडकमा से.१ त ५८०४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएका सोही ट्याक्टरमा काम गर्ने सोही उपमहानगरपालिका बस्ने २८ वर्षीय बीरेन्द्र चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-७ बिकास चोकमा प्रदेश नम्बर ३-०३००३ प १६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय बुद्धिराज सापकोटाको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१० त्रिचोकस्थित सडकमा हाल नम्बर नखुलेको स्कार्पियोले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री धादिङ घर भई हाल भरतपुर महानगरपालिका-१० बस्ने ४० वर्षीय साजन तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, धनुषाधाम नगरपालिका-६ किसानपुरमा ज.७ प ५५३६ नम्बरको मोटरसाइकलले सोमबार साँझ सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीया रामोदेवी मण्डललाई ठक्कर दिँदा दुर्घटना भई गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहट कटहरिया नगरपालिका पल्टुवा घर भई हाल धनुषाधाम नगरपालिका-६ किसानपुर बस्ने ३२ वर्षीय राजु शर्माको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएकी पैदलयात्री रामोदेवी मण्डलको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

सिरहा, धनगढिमाई नगरपालिका-१ मेदनी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका पुरुषको उपचारको लागि राउ अस्पताल लहानतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, ‍बेलबारी नगरपालिका-१० स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका-५ जेरुङ गाउँस्थित सडकमा ना.६ त ७३६० नम्बरको ट्याक्टर र बा.६३ प ९३५५ नम्बरको मोटरसाइकल मंगलबार बिहान एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार मानेभञ्ज्याङ गाउँपालिका-५ उदयपुर बस्ने २५ वर्षीया पबित्रा राईको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।