neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्री राउतको आग्रह

सरकारको निर्देशन अक्षरशः पालना गर्न मुख्यमन्त्री राउतको आग्रह

Mar 24th, 2020

धनुषा ११, चैत (रासस)

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले जारी गरेको लकडाउनको निर्देशन अक्षरशः पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै महामारी विरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै तिनलाई पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको हो ।

तीनै तहको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको भन्दै उहाँले लकडाउनलाई पुर्णतः समर्थन गर्नसमेत आग्रह गर्नुभयो । उहाँले महामारी विरुद्ध लड्न प्रदेश सरकारले गत सातादेखि नै आफ्ना पूर्वतयारी शुरु गरिसकेको हुँदा यस महाविपतको घडीमा कसैलाई नआत्तिनसमेत आग्रह गर्नुभयो । उहाँले महामारी विरुद्धको पूर्वतयारीका लागि प्रदेशमा २५० आइसोलेशन शय्या तयारी अवस्थामा रहेको र थप आइसोलेशन शय्याका लागि गृहकार्य भइरहेको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

महामारीको हल्ला सुनिएलगतै प्रदेश सरकारले पूर्वतयारीका लागि विपद् व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यस्थापन कोषलाई रु ५०/५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई रु पाँच लाख उपलब्ध गराइसकेको छ ।

मुख्यमन्त्री राउतले महामारी विरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन समाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई रु १२ लाख, जिल्ला अस्पतालहरुलाई रु ५/५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्तिकेन्द्रलाई औषधी र पर्सनल केयर इक्युपमेन्टका लागि रु १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रु पाँच लाख, जनचेतनामूलक प्रचारप्रसारका लागि स्वास्थ्य निर्देशनालयलार्ई रु पाँच लाख, मन्त्रालयमार्फत नीतिगत खर्चका लागि रु १० लाख, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि रु १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणका लागि रु १० लाख, एकीकृत अनुगमनका लागि रु पाँच लाख, रेफरल एम्बुलेन्स सेवाका लागि रु तीन लाख छुट्याइएको जानकारी गराउनुभयो ।

उहाँले महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परे प्रदेश सरकार तयारी अवस्थामा रहेको समेत जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले कोरोनाको महामारीसँग लड्न विभिन्न तयारी गरे पनि उपकरणहरूको अभाव झेलिरहेको अवस्थामा यस महामारी विरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक प्रोफेशनल प्रोटेक्टिभ इक्युपमेन्ट, एन ९५ मास्क, थर्मल गन र भेन्टिलेटरको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग मागसमेत गर्नुभयो ।

जनकपुर ठप्प

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन आज जनकपुर पूर्णरूपमा ठप्प भएको छ । जनकपुरस्थित सबै बजार र बजारका सम्पूर्ण पसलहरु बन्द छन् भने सवारी साधन पनि पूर्णरूपमा बन्द छन् ।

बिहान केहीबेर छिटपुटरूपमा सञ्चालनमा रहेका मोटरसाइकलसमेत प्रहरीले रोकेको छ । जनकपुरको जिरोमाइलबाट प्रहरीले ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ । कोरोनाबाट यसैगरी जबरजस्ती मोटरसाइकल चलाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

लकडाउनको उल्लङ्घन गर्दै अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्नेलाई पक्राउ गर्न र जथाभावी गर्नेलाई बल प्रयोग गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अहिले जनकपुरको विभिन्न ठाउँमा सुरक्षाकर्मी परिचालन भएको छ । सुरक्षाकर्मीले घरबाट बाहिर निस्कनेलाई अतिआवश्यक काम बाहेक घर फर्काउने र सम्झाउने गरिरहेका छन् । नमान्नेलाई पक्राउ गर्न तथा जथाभावी गर्नेलाई लठ्ठीसमेत प्रयोग गर्न प्रशासनले निर्देशन दिएको छ ।

पास बाहेकका सवारीसाधन सडकमा गुडाउन प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले केही सरकारी गाडी, सञ्चार तथा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई पासको व्यवस्था गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषप्रसाद निरौलाले लकडाउनलाई पूर्णरूपमा पालन गर्न सबैसँग आग्रह गर्नु भएको छ । सरकारको आदेश उल्लङ्घन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुनसक्ने निरौलाले जानकारी दिनुभयो । प्रजिअ निरौलाले अहिलेसम्म घरबाहिर निस्केकालाई सम्झाइबुझाई फिर्ता पठाइएको र जबरजस्ती गरे नियन्त्रणमा लिई कारवाही हुने जानकारी दिनुभयो ।